पुल बगाएपछि बाह्रबिसे–तातोपानीको सम्पर्क टुट्यो, बजारमा बाढी पसेपछि त्रासमा स्थानीय

कृपा श्रेष्ठ /साँधी खोलामा आएको बाढीले पुल भत्काउँदा बाह्रबिसे बजार डुबानको जोखिममा परेको छ । बाह्रबिसे हुँदै तातोपानीसम्म जोड्ने पक्की पुल बाह्रबिसे बजारको खुर्सानीबारी नजिकै  बगाउँदा बाह्रबिसे बजारमा बाढी पसेको हो ।
शनिबार राति साँधीखोलामा आएको बाढीले पुल बगाए पछि बाह्रबिसेदेखि तातोपानी सीमाको सम्पर्क टुटेको छ । 


बाढीले बाह्रबिसे नगरपालिका–३ र ४ को बीचमा रहेको साँदी खोलाको पुल बगाएको हो । पुल बगाएपछि उक्त क्षेत्रमा आवागमन समेत ठप्प भएको छ । बजार क्षेत्रका २२ घरमा बाढी पसेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिनुभयो ।
अरनिको राजमार्गमा पर्ने ४० फिट लामो सो पुल चीन सरकारले २०२४ सालमा निर्माण गरेको हो । बाढीका कारण सडक सतहभन्दा करीब पाँच फिटसम्म ढुङ्गा र माटो थुप्रिएको छ । खोलाको पानी घरभित्र पस्न थालेको छ । स्थानीयबासी बाढीका कारण त्रसित छन् ।
गएको साउन ३० गते बाह्रबिसे नगरपालिका वडा न ४ को ओख्रेनी भिरकुनामा आएको पहिरोको कारणले भिरकुना हुँदै ओख्रेनी र त्यस भन्दा तलका घरहरु ठूलो क्षति पुगेको थियो । बाह्रबिसे बजारदेखि माथिल्लो ग्रामिण भेगको अबस्था हेर्दा अझै झनै जोखिममा परेको छ । अहिलेसम्म करिब ५०० वटा रुख बिरुवा बगाएको छ भने बाह्रबिसे नपा–३ काभ्रे डाँडामा रहेको कृष्णमाया खड्काको र झण्डै ५ रोपनी खेत बगाएको छ  ।
बाह्रबिसे बजार क्षेत्रभर लेदो पसेर नदी बनेपछि बजारभर त्रास फैलिएको थियो । तीन इन्च उता सरेको पुलको स्लापसंगै लेदो सबै साँधीखोल्साले बगाएर भोटेकोसी छेउमा थुपारेको छ । जसले बजार झन जोखिममा रहेको स्थानीयको भनाइ छ ।
भीरकुनाबाट झरेको पूरा पहिरो आइसकेको छैन त्यसैले जोखिम झन् बढ्दै गएको छ । बजारका अधिकांश पसलमा भित्र पानीको बहाव पसेर क्षति पुर्याएको स्थानीयले बताएका छन् । साँधीखोल्सा वरीपरी रहेका झण्डै ६ घरमा अत्यधिक क्षति पुगेको छ । छेउका ४ घर उच्च जोखिममा छन् ।
सडकमा गिर्खा, बालुवा र हिलोले क्षतिग्रस्त बनाएपछि नगरपालिकाको सहयोगमा एक्साभेटरबाट पन्छाउने प्रयास भइरहेको छ । नदी छेउको वरीपरीका संरचना तहसनहस बनाउन थाले लगत्तै भोटेकोशीको सतह बढेपछि स्थानीयमा त्रास फैलिएको प्रहरीले जानकारी दिएको छ ।
नगर क्षेत्रभर बाढी र पहिरोको त्रास बढेपछि  उद्धारका लागि प्रहरीलाई खटाइएको बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले बताउनुभयो ।
सुरक्षा र उद्धारको लागि प्रहरी तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । भौतिक क्षतिको तंथ्याक संकलन भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।

,