वर्षाका कारण सुनकोशी गाउँपालिकामा भएको क्षतिको विवरण सार्वजनिक

चौतारा/अविरल वर्षाका कारण जिल्ला बाढी पहिरोले प्रभावित बनेको छ । विभिन्न स्थानका घरहरु जोखिममा रहेका छन् भने ग्रामीण भेगका सडकहरु समेत अवरुद्ध बनेका छन् ।

यसैबीच सुनकोशी गाउँपालिका वडा नं. ३ कालिकामा गत २२ गते रातीको अविरल वर्षाले साविक कालिका गाविस वडा नं. ९ मा करिव ३५ रोपनी धानखेती लगाएको जमिन बगरमा परिणत भएको छ ।

त्यस्तै अविरल वर्षा र पहिरोको कारण साविक कालिका गाविस वडा नं. ९ अबालेमा ५ घर जोखिममा परेको छ भने सोही वडाको पल्लावारी एरिया आँपबोटे टोल सरस्वती प्रावि आसपासका २५घरधुरी जोखिममा परेको छ भने चिनियाखर्कमा रहेका ७ घरधुरी पहिरोको चपेटामा परेका कारण मानिसहरु सुरक्षित ठाउँमा त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् ।


त्यसैगरी सोही दिन परेको अविरल वर्षाका कारण साविक कालिका गाविस वडा नं. ७ गैराटोलको ४ घर, साविक वडा नं. ८ को ३७ घर, साविक वडा नं. ५ को जगन्नाथ टोलको १२ घर, साविक वडा नं. ४ छापको ७ घर साविक वडा नं. १ र २ मा १५ घरपरिवार जोखिममा रहेका छन् ।

जसमा घर माथिबाट पहिरो आउने तथा घर तल्लोपट्टीबाट पहिरो गएका छन् ।

त्यसैगरी अविरल वर्षाले भुमेश्वरी प्रावि, जनजागृती मावि समेत क्षतविक्षत भएका छन् । त्यसैगरी सोही दिनको अविरल वर्षाले कालिका गाविसको ५ वटा खानेपानी तथा २ वटा सिंचाई कुलो समेत बन्द भएको छ । जसमा लगभग सम्पन्न भएको केन्द्रीय स्तरको स्किम नं. १ कालिका खानेपानी आयोजना, सम्पन्नतर्फ उन्मुख चमेली खानेपानी आयोजना, सुरुवाती चरणमा रहेको उत्तिसघारी खानेपानी आयोजना, सम्पन्न भई सञ्चालनमा रहेको लमिनी ढुङ्गा खानेपानी आयोजना, मलेतारुख खानेपानी आयोजना, सिमलवोटे खानेपानी आयोजना, पुरानागाउँ खोल्सा मुल गैराटोल लिफ्ट खानेपानी आयोजना पूर्ण रुपमा क्षति भएको छ । जसका कारण खानेपानीको हाहाकार भएको छ ।

सोही दिनको वर्षाले छङ्छङे सिंचाई आयोजना र खोलेखेत सिंचाई योजना समेत पूर्ण रुपमा क्षति हुन पुगेको छ ।

,