जुरे पीडितको रकम फुकुवा गर्ने निर्णय

दिपक खत्री/जिल्ला विपत ब्यवस्थापन समिति सिन्धुपाल्चोकको बैठकले जुरे पहिरो पीडितका लागि रकम फुकुवा गरी दशैं अगाडि वितरण गर्ने निर्णय गरेको छ ।

जुरे पहिरो पीडितको रकम वितरणलाई प्रभावकारी बनाउनको लागि सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेको संयोजकत्वमा एउटा उपसमिति समेत गठन गरीएको छ ।

यसैबिच जुरे पहिरो पिडितका लागि गठित उपसमितिको पहिलो बैठक समेत हिजो बसेको छ । 
बैठकले जुरे पहिरो पिडितका लागि नेपाल बैंकमा जम्मा भएको रकम २ करोड २४ लाख ६६ हजार ६ सय ५७ रुपैया फुकुवा गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि उपसमिति बैठकले गरेको छ ।


उपसमितिले यस अगि रकम वितरण तथा छानविन समितिले गरेको निर्णयहरुको स्थलगत निरीक्षण गरेर प्रतिवेदन पेश गर्ने उपसमिति संयोजक दुर्गा बन्जाडेले बताउनुभयो । २०७१ साउन १७ गते मध्यराति पहाड खसेर सुनकोसी थुनिँदा मांखा, राम्चे, धुस्कुन र टेकानपुरका एक सय ४५ जनाले ज्यान गुमाएका थिए  । ९७ घर पहिरोभित्र परेको थियो ।  डुबानमा  र बस्नै नसक्ने गरी दुई सय २० घर प्रत्यक्ष प्रभावित भएका थिए ।

जुरे पहिरोपीडितका लागि सर्वसाधारणबाट संकलित दुई करोड २४ लाख रुपैयाँ पनि सरकारी खातामै थन्किँदा पीडितहरू आक्रोशित छन् ।  जुरे पहिरोपछि मृतक परिवारले सरकारबाट प्रतिमृतक किरिया खर्च ४० हजार र एक लाख रुपैयाँ मात्र राहत पाएका छन् ।

मध्यरातमा गएको पहिरोले बस्ती नै सखाप भएपछि तत्कालिन जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुपाल्चोकले राहत कोष खडा गरेको थियो । देश विदेशबाट सहायता जम्मा गर्ने एक किसिमको अभियान नै चलेको थियो । तीन महिना पुग्दा नपुग्दै कोषमा दुई करोड २४ लाख रुपैयाँ जम्मा भएको थियो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले निर्णय गरी सहायता रकम वितरण प्रक्रिया अधि बढाउनुपर्ने थियो। तर त्यसो नगरी प्रमुख जिल्ला अधिकारीले उपसमितिले दिएको प्रतिवेदन ‘अध्ययन गरी सुझाव दिन’ तत्कालीन सभासद्कहाँ पठाईएको थियो ।

तत्कालीन सभासद् मोहनबहादुर बस्नेत, अमृतकुमार बोहोरा, शेरबहादुर तामाङ, अग्निप्रसाद सापकोटा र रमेश लामाले एक वर्षसम्म पनि उक्त प्रतिवेदनमाथि कुनै सुझाव दिएनन् । त्यसयता जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक पटक–पटक बसेपनि कुनै निर्णय भने हुन सकेको थिएन ।

,
Lokpriyasamachar@. Powered by Blogger.