टिप्पणीप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गिकरण नतिजाको सन्दर्भमा उठेका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै काउन्सिलले उक्त कुराको जानकारी दिएको हो ।
इतिहासमै पहिलोचोटी सरकारी हस्तक्षेपबिना प्रकाशित गरिएको नतिजा भएकोले नतिजाबाट पत्रिकालाई सुरक्षित गर्ने सामूहिक नीतिगत निर्णय भएको काउन्सिलले जनाएको छ । 
काउन्सिलको सहप्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनालद्वारा जारी विज्ञप्तीमा भनिएको छ– हालै प्रकाशित आ.व. २०७२/०७३ र २०७३/०७४ को पत्रपत्रिका वर्गीकरण नतिजाका सन्दर्भमा केही दिनदेखि उठेका टिका–टिप्पणीप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

सबैलाई न्याय दिने गरी काउन्सिलका सबै पदाधिकारीहरूबीचको गहन छलफल र सहमतिपश्चात् सम्प्रेषित यस नतिजाउपर पुनरावलोकन/पुनःमूल्यांकन प्रक्रिया शुरु भइसकेको अवस्था छ । यस नतिजामा सम्पादकीय, समाचार र अन्य सामग्रीहरु हुबहु गर्ने पत्रपत्रिकाहरूलाई समेत कमी–कमजोरीको प्रकृतिका आधारमा न्यूनतम् वर्ग कायम गरी नतिजा प्रकाशन गरिएको छ । हुबहु ठहरिएवापत दुई वर्षसम्म सुविधा नपाइने पत्रपत्रिकाको वर्गीकरणसम्बन्धी मापदण्डमा उल्लेख छ । सम्भवतः इतिहासमै पहिलोचोटी सरकारी हस्तक्षेपबिना प्रकाशित गरिएको नतिजा हो यो । तसर्थ यस नतिजाबाट पत्रिकालाई सुरक्षित गर्ने सामूहिक नीतिगत निर्णय भएको छ । आ.व. २०७३/०७४ मा अत्यधिक सङ्ख्यामा हुबहु रहेको डरलाग्दो समस्यालाई न्यूनीकरण गरी कमभन्दा कम हुबहु कायम गरिएको छ । स्वरोजगार, दुर्गम र साना लगानीका अखवारहरूलाई निरन्तरता र योगदानका आधारमा भूल सच्याउने र लोककल्याणकारी विज्ञापन निरन्तर प्राप्त भैरहने कुराको प्रत्याभूति गरिएको छ । सञ्चार विज्ञहरूद्वारा अथक मेहनतका साथ तयार पारिएको पत्रपत्रिकाको वर्गीकरणसम्बन्धी प्रतिवेदनका सन्दर्भमा कुनै किसिमको भ्रममा नपर्न काउन्सिल हार्दिक आग्रह गर्दछ विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै पुनरवलोकनको प्रक्रियाबाट कतै, कुनै समस्या तथा कमिकमजोरी भए सच्याउँदै अघि बढ्न पुनरवलोकन प्रक्रिया सुरक्षित रहेकोले नकारात्मक मात्रै देख्ने मनोविज्ञानद्वारा सिर्जित भ्रममा नपर्न काउन्सिल सबैमा अपील गर्दछ । पत्रपत्रिकाको वर्गीकरणसम्बन्धी प्रतिवेदन सम्बन्धित पत्रिकाको जानकारीको निम्ति काउन्सिलमा उपलब्ध रहेको जानकारीसमेत गराइन्छ विज्ञप्तीमा भनिएको छ ।

,