आफूले निर्माण गरेको भवन अनुगमन गर्दै संघसंस्था

नेपालमा गएको विनाशकारी भूकम्प पछि क्षति भएका सामुदायिक विद्यालयहरुको भवन पुनर्निर्माण गर्न सहयोग गर्ने संस्थाहरुले आफूले निर्माण गरेका भवनहरु कसरी सञ्चालन भएका छन् भनेर अनुगमन गर्न थालेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउले स्थित सेतीदेवी माध्यमिक विद्यालयको भवन निर्माण गर्न सहयोग गर्ने अखिल नेपाल फुटवल संघ (एन्फा)का सामाजिक दायित्व र एएफसीका प्रतिनिधिहरुले विद्यालयको भवन अनुगमन गरेका छन् ।
एन्फा उपाध्यक्ष शिक्षित पराजुली, सामाजिक दायित्वको कार्यक्रम संयोजक उत्तम भण्डारी, एएफसीका भवन निर्माण संयोजक मनिष श्रेष्ठ लगायतले अनुगमन गरेका हुन् ।   

अनुगमनका क्रममा एन्फाका उपाध्यक्ष पराजुलीले विद्यालय भवन निर्माणका लागि भएका प्रयासहरु र स्थानीयको सहयोगमा नै भवन निर्माण गर्न हामी सफल भएका छौं । अब यसलाई संरक्षण र संवद्र्धन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने दायित्व विद्यालय परिवारको भएको बताउनुभयो ।   
कार्यक्रममा सामाजिक दायित्वका कार्यक्रम संयोजक उत्तम भण्डारीले शिक्षा, खेलकूल र स्वास्थ्य एक आपसमा अति आवश्यक सम्बन्ध राख्ने विषय भएकाले शिक्षाको लागि  स्वास्थ्य र स्वास्थ्यको लागि खेलकूदको आवश्यकता परेको हुँदा शिक्षा र खेलकूदलाई सँगसँगै विकास गर्नुपर्ने बताउनुभयो ।
एएफसीका भवन निर्माण संयोजक मनिष श्रेष्ठले भवन निर्माण कार्य सम्पन्न भइसकेको भएतापनि यसको संरक्षण र व्यवस्थापनमा केही कमजोरी देखिएकोले त्यसलाई बिस्तारै सुधार गर्दै लैजाने बताउनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिपेन्द्र थापाले शिक्षा विकासको लागि नगरपालिकाबाट गर्नुपर्ने सहयोग भइरहेको र यदि विद्यालयको पठनपाठनमा नगरपालिकाबाट गर्नुपर्ने कुनै सहयोगको आवश्यकता रहेमा नगरपालिकालाई आफ्नो समक्ष राख्नुपर्ने बताउनुभयो ।
विद्यालयको तर्फबाट विद्यालयको तर्फबाट अमिर श्रेष्ठले विद्यालयको समस्याहरुको बारेमा अवगत गराउनुभएको थियो भने विद्यार्थीहरुले भवन र शौचालय राम्रो भएको भएतापनि पानीको अभावले प्रयोगविहीन भएको गुनासो व्यक्त गरेका थिए ।
वडा शिक्षा समितिका अध्यक्ष तथा वडा नं. १ का वडाध्यक्ष सानुकान्छा श्रेष्ठले विद्यालय भवन मात्र निर्माण गरेर शिक्षण सिकाईमा उपलब्धी नहुने भएकाले शिक्षण सिकाईलाई आवश्यक पर्ने सामग्रीको समेत व्यवस्था भए सुनमा सुगन्ध हुने बताउनुहुँदै विद्यालय या आसपासमा खेलकूद मैदानको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उक्त १८ कोठे विद्यालय भवन निर्माण गर्न २ करोड ४० लाख लगानी भएको थियो भने १३ महिनामा निर्माणकार्य सम्पन्न भएको थियो ।  एन्फा उपाध्यक्ष अधिकारीले वडा अध्यक्ष श्रेष्ठलाई फुटवल समेत हस्तान्तरण गर्नुभएको थियो ।     

,
Lokpriyasamachar@. Powered by Blogger.