निर्माण व्यवसायीको लापरबाहीले सास्तीमा यात्री

सडक स्तरोन्नतिका नाममा निर्माण व्यवसायीको लापरबाहीले सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका यात्रीले साढे दुई वर्षदेखि दुःख पाइरहेका छन् । खााडीचौरदेखि मुढेसम्मको सडकखण्ड जम्मा २७ किलोमिटर मात्रै छ । यो सडकमा सवारी चालक मात्रै होइनन्, यात्रु पनि हिँड्न तर्सिन्छन् ।

ठूला सवारीसाधन त ठेलामठेल गरेरै भए पनि जसोतसो गन्तव्यमा पुग्छन् तर साना सवारीसाधन भने यो सडकबाट अघि बढ्ने कल्पना पनि गर्न सक्दैनन् । खाडीचौरदेखि मुढेसम्म सिन्धुपाल्चोक पर्छ । त्यहाँबाट चरिकोटसम्म दोलखा । जम्मा ५५ किलोमिटर सडक पार गर्न आजभोलि कम्तीमा पनि १० घण्टा लाग्न थालेको छ ।

हिलो र खाल्डाखुल्डीले ठाउँठाउँमा सवारीसाधन बिग्रने गरेका छन् । सडकमा सास्ती भएपछि केही सातादेखि चरिकोटलगायत दोलखाका अधिंकाश यात्रु र सवारीसाधन रामेछाप–खुर्काेट सडक हुँदै राजधानी जानेआउने गर्न थालेका छन् । चरिकोटदेखि काठमाडौंसम्मको जम्मा दूरी १३३ किलोमिटर हो तर अहिले यस क्षेत्रका यात्रु १९१ किलोमिटर सडक पार गर्दै गन्तव्यमा पुगिरहेका छन् ।

सडकको अवस्था जर्जर भएपछि यस क्षेत्रमा थोरै सवारीसाधन सञ्चालन हुन थालेपछि स्थानीय यात्रुहरू चरम मर्कामा परेका छन् भने राजमार्ग आसपासको व्यापार घाटामा गएको छ ।

सडक चौडा र स्तरोन्नतिका नाममा ठेकेदारले भत्काएर मात्र छाडिदिएपछि यतिबेला लामोसाँघु–जिरी सडक हुँदै यात्रा गर्ने हजारौं यात्रुले सास्ती खेपिरहेका छन् । बर्खे भेलले खाडीचौरदेखि चरिकोटसम्मको सडक क्षतविक्षत बनेको छ । सडकमै पानीका दह जमेका छन्, हिलोले यो सडक धान रोपाइँका लागि तयार पारिएका खेतका गरा भन्दा कम छैन । पानीको सामान्य भलसम्म नकटाउँदा दर्जनौं ठाउँमा ‘कान्ला’ बनेका छन् । हिलो पन्छाउँदै र
कान्ला छिचोल्दै दैनिक हजारौं यात्री सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।

मालवाहक ट्रक तथा टिपरहरू हिलोमा फसेपछि लामोसाँघु–जिरी सडकखण्डका विभिन्न स्थानमा दैनिकजसो यातायात अवरुद्ध हुँदै आएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.