नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण

जिल्लाको बलेफि गाउँपालिका वडा नं २ स्थित श्री लक्ष्मिदेवि माध्यमिक विद्यालय परिसरमा नवनिर्मित भवन एक समारोह विच हस्तान्तरण गरिएको छ ।
आईतबार आयोजित विशेष कार्यक्रममा प्रदेश नं ३ का अर्थ तथा विकास समितिका सभापति समेत रहनुभएका  सांसद सरेश नेपालले भवन विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । भूकम्पले सबै भवन पुर्णरुपमा भत्किएपछि मलेसीयन रेडक्रिस्चीयनको सहयोगमा विद्यालयमा चारकोठे पक्कि भवन बनाईएको हो । पुर्व मन्त्री तथा सांसद अग्नीप्रसाद सापकोटाको पहलमा आएको दाता टोलीले विद्यालय निर्माणका लागि सहयोग गरेको विद्यालय निर्माणका सम्पर्क व्यक्ति श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार बाटो र ठेकेदारको लापरवाहिका कारण निर्माणमा केही ढिला भएपनि भवन, पक्कि भवन, भवनका चारवटा कोठाका लागि फर्निचरको व्यवस्था दाताको तर्फबाटै गरिएको छ । भवन कुल ६० लाख लागतमा तयार भएको जनाईएको छ ।
विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि सरेश नेपालले विद्यालय र विद्यार्थीलाई बधाई दिँदै पढाईमा प्रतिस्पर्धा गर्न सुझाव दिनुभयो । अतिथि बलेफि गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रिले विद्यालयलाई अब्बल सावित गर्न अविभावक, शिक्षक र विद्यार्थी सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा वडाअध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल न्यौपाने, पुर्व विद्यार्थी एवं विद्यालय निर्माणका लागि सम्पर्क व्यक्ति श्रीधर न्यौपाने, विद्यालयका प्रधानाध्यापक पदमबहादुर भण्डारी लगाएतले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयले भवननिर्माणमा महत्वपुर्ण भूमिका खेलेका पूर्व विद्यार्थी श्रीधर न्यौपाने, डा. नवराज गौतम, पत्रकार दिपक सापकोटा लगाएतलाई सम्मान समेत गरेको छ ।

,