दुबाचौरमा मनाईयो हिलेजात्रा

मेलम्ची नगरपालिका वडा नं ७, दुबाचौरमा हिजो हिले जात्रा भएको छ । पञ्चेबाजा नाच, लाखे नाच, रोपाइँ नाच, नागा नाच र मारुनि नाच प्रस्तुत गरिएको वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

बालसुधार माध्यमिक  विद्यालयको प्राङ्गणबाट सुरु भएको हिले जात्रा वडा कार्यालय अगाडिबाट तिनकुने, सेल्लेको सन्सारि डाँडासम्म पुगेको थियो । गाईजात्राकै अबसरमा भोलि नेवारी समाजको आयोजना र दुवाचौर युवा क्लबको बिशेष सहयोगमा  लाखे नाच सहित  बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।


त्यस्तै सिन्धुपाल्चोकको पाँचंपोखरी थाङपाल गाउँपालिका ३ मा रहेको पाँचंपोखरी र रैथानेश्वर महादेब मन्दिरमा लागेको मेलामा यो बर्ष ३ हजारभन्दा बढी भक्तजनहरुले मेला भरेका छन् । भोताङदेखि दुई दिनको पैदलमा पुगिने पाँचंपोखरीमा जनैपूर्णिमाको अवसरमा लागेको मेलामा सो सङ्ख्याका भक्तजनहरुले मेला भरेको अनुमान गरेको पाँचंपोखरी थाङपाल गाउँपालिकाले जानकारी दिएको छ ।

यस्तै रसुवास्थित गोसाइँकुण्डमा लागेको मेलामा पनि यो बर्ष १० हजार भक्तजनले स्नान गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिका ५ मा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा मेला भर्नका लागि देश विदेशबाट तीर्थयात्री आउने क्रम अझै जारी रहेको प्रशासनले जनाएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.