तेक्वान्दोका भण्डारी र लोकप्रियका बस्नेत सम्मानित



सिन्धुपाल्चोक फुल्पिङकोटमा जन्मेर कोरियामा गएको १२ औं विश्व तेक्वान्दो कल्चर एक्स्पो प्रतियोगितामा ८० केजी तौल समुहमा विश्वको ८६ देशको सहभागीतामा फाइट तर्फ गोल्ड मेडल स्वर्ण पदक जित्न सफल अनि उक्त प्रतियोगितामा पुम्सेतर्फ सिल्भर मेडल रजत पदक जित्न सफल हुनुभएका प्रेम भण्डारीलाई शनिबार हिराहरी तेक्वान्दो डोजाङले एक समारोहका बिच विशेष सम्मान गरेको छ ।
त्यसैगरी समारोहमा लोकप्रिय नेत्रज्योती सञ्चार समूहका कार्यकारी प्रमुख तथा लोकप्रिय समाचार दैनिकका प्रकाशक, लोकप्रिय अनलाइनका सम्पादक नेत्रबहादुर बस्नेत पनि विशेष सम्मान गरिएको छ ।
जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष तथा तेक्वान्दो डोजाङको अभियानकर्ताको रुपमा रहनुभएका भण्डारीले जिल्लाको मात्र होइन राष्ट्रकै पहिचानको काम गरेको र भण्डारीले जिल्लालाई विश्वसामु चिनाउन सफल भएको र जिल्लाको नाम उच्च स्थानमा राखेकोले यो सम्मानले अझ अगाडी बढाउन प्रेरणा मिलेको सहभागीहरुले बताएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाका तर्फबाट प्रमुख अतिथिका आसनबाट बोल्दै वडा नं. ७ का वडा अध्यक्ष उमा प्रसाद दुलालले शिक्षा, स्वास्थ्य र मानवीय विकासका लागि खेलकुदले ठूलो भूमिका निर्वाह गर्ने भएकोले यसका लागि नगरपालिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै हिराहरी तेक्वान्दो डोजाङले सिन्धुपाल्चोकको पहिचान विश्वमा पु¥याउने काम गर्ने यस्ता महान व्यक्तिलाई सम्मान गरेर खेलकुद जगतको प्रोत्साहन गरेकोमा धन्यवाद दिनुभयो । उहाँले सोही अवसरमा जिल्लाबाट दैनिक पत्रिका प्रकाशन गरेर जिल्लाको पहिचानमा ठूलो मद्धत गरेको हुँदा र जिल्लामा घटेका सत्यतथ्य घटनालाई दैनिक रुपमा जिल्ला तथा  राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्ममा पु¥याउनको लागि महत्वपूर्ण भूमिका खेलेको लोकप्रिय दैनिक तथा लोकप्रिय अनलाइनका सञ्चालकलाई समेत सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
ज्ञानमन्दिर माध्यमिक विद्यालयका प्रअ तुलसी प्रसाद दंगालले विद्यार्थीलाई सिकाइमा उपलब्धीमूलक बनाउनको लागि खेलकुदले ठूलो हिस्सा ओगटेको बताउँदै सिन्धुपुत्र प्रेम भण्डारीले विश्वमा आफ्नो जिल्ला र राष्ट्रको पहिचान गराउन सफल हुनुभएकोमा धन्यवाद दिँदै राष्ट्रले यस्ता व्यक्तित्वलाई सम्मान गर्न नसकेकोमा गुनासो व्यक्त गर्नुभयो । ज्ञान मन्दिर माविका अध्यक्ष रामकृष्ण दंगालले जिल्लाका यस्ता व्यक्तिलाई राष्ट्रले नदेखेकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रले यस्ता नागरिकको समस्यालाई साझदारी गर्दै यस्ता नागरिकलाई राज्यले खोजी खोजी सम्मान गर्नुपर्ने बताउनुभयो ।
सम्मानित भएपछि बोल्दै भण्डारीले २०५४ सालदेखि सिन्धुपाल्चोकमा तेक्वान्दो डोजाङ खेल सुरु भएको र आफूले खेल खेल्दै सिकाउँदै जाँदा ८७ वटा राष्ट्रसँग प्रतिस्पर्धा गर्दा भोग्नु परेको समस्या र समाजको सहयोगको बारेमा चर्चा गर्दै खेलकुदमा कुनैपनि विषयवस्तुको विकास नहुने भएकोले यसलाई राज्यले प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
विद्यालयका शिक्षक तथा अभिभावकहरु र खेलाडीहरु समेतको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो । ‘तेक्वान्दो खेलौँ, स्वस्थ र अनुशासित बनौँ’ भन्ने मूल नाराका साथ सञ्चालित भएको जुनियर ग्रेडिङ तथा सम्मान कार्यक्रममा वडा सदस्य श्री कृष्ण प्रसाद दंगाल, प्रेस युनियनका अध्यक्ष ध्रुव दंगाल, जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष गंगा तामाङ, सिनियर खेलाडी सुभाष तामाङ, जिल्ला व्याडमिन्टन संघका जिल्ला अध्यक्ष तथा डोजाङका सल्लाहकार सुवर्ण श्रेष्ठ लगायतका विशेष उपस्थिति रहेको थियो । ग्रेडिङमा ३० जना खेलाडी सहभागी रहेका थिए ।
सहभागी सबै उत्तिर्ण भएका थिए भने सेतोपेटी तर्फ जीवन खड्गी, मिङमार शेर्पा, लोक्सान शेर्पा, पहेंलो÷हरियो पेटितर्फ प्रनिश दंगाल, कृति तामाङ, हरियो पेटितर्फ दिपेश दंगालले डबल प्रमोशन गर्नुभएको थियो । मेलचौरको सामुदायिक भवनमा भएको कार्यक्रमको सञ्चालन डोजाङ प्रमुख रमेश गुरुङले गर्नुभएको थियो भने सल्लाहकार सुवर्ण श्रेष्ठले प्रेम भण्डारी र नेत्र बस्नेतलाई प्रदान गरिएको सम्मान पत्र वाचन गर्नुभएको थियो ।
यसरी सम्मान कार्यक्रम राखेर जिल्लाको पहिचानको लागि अगाडी बढ्न खोज्नेलाई झनै प्रेरणा मिलेकोले हिराहिरी तेक्वान्दो डोजाङलाई लोकप्रिय समाचार दैनिकले समेत विशेष धन्यवाद गरेको प्रबन्ध निर्देशक रामु गैरेले बताउनु भएको छ । 

,