सार्वजनिक शौचालय प्रयोगविहीन

देवराज सुवेदी/सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित टुँडीखेलको सार्वजनिक शौचालय व्यवस्थित नहुँदा प्रयोगविहीन भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले शौचालयको संरक्षण र सरसफाइमा ध्यान दिन नसक्दा यो अवस्थामा पुगेको हो  ।
टुँडीखेल वरपरका विभिन्न सरकारी कार्यालयमा आवतजावत गर्ने नागरिकहरु शौचालय भएर पनि खुला ठाउँमा दिसापिसाब गर्न बाध्य छन् । खुला शौचका कारण टुँडीखेल वरपरको क्षेत्र दुर्गन्धित बनेको छ । दुर्गन्ध फैलिनाले स्थानीयलाई त मुस्किल परेको छ नै शौचालयसँगैको बाल उद्यानमा जान पनि नागरिकहरुलाई कठिन भएको छ ।
टुँडीखेलमा भइरहेको एक कार्यक्रमका सहभागी चौतारा क्याम्पसका प्रमुख नगेन्द्र दंगाल सार्वजनिक शौचालयमा जान खोज्दा त्यहाँको अवस्थाका कारण जान सक्नुभएन । शौचालयको अवस्था देखेर उहाँले नगरपालिकालाई छिटो सुधार गर्न आग्रह गर्नुभयो ।
मानिसहरुको बाक्लो उपस्थिति रहने चौताराको टुँडीखेलमा सार्वजनिक शौचालयको अवस्थाबारे चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले यस अगाडी पनि सरसफाइ गरिरहेका बताउँदै केही दिनदेखि वर्षाद्का कारण शौचालयमा केही समस्या भएको यसलाई आगामी दिनमा व्यवस्थित तरिकाले सरसफाइका साथ सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

,