पुल भत्किएपछि स्थानीयलाई सास्ती

बाह्रबिसे नगरपालिका ७ स्थित पहिरेखोलाले पुलको टाँगिएका सबै काठ बगाएर बीचको फलामे डण्डिमात्रै बाँकी राखेको छ ।
अविरल वर्षाका कारण जताततै पहिरोले सडक र हिँड्ने गोरेटो बगाएपछि बालबालिकालाई कठिनाइ परेको छ । त्यसमा पनि वर्खायाममा उर्लेको खोला माथिको झोलुंगे पुलको नाजुक अवस्थाले गाउँलेलाई सास्ती थपिदिएको छ । झण्डै २० बालबालिका यस्तै समस्या ब्यहोर्न बाध्य छन् ।
पहिरेखोला तर्नको लागि अरु माध्यम नभएका कारणले जोखिमपूर्ण पुल तरेर घर आउने गरेको भद्रकाली माध्यमिक विद्यालयको कक्षा ५ का छात्र सन्तोष तामाङले बताउनुभयो ।
स्थानीय शिक्षक रामचन्द्र पौडेलका अनुसार पहिरे खोलामा आएको बाढीले पुललाई क्षतिग्रस्त बनाएपछि बालबालिकालाई तर्नै मुस्किल बनेको छ । वडाध्यक्ष मिनबहादुर श्रेष्ठले हप्तादिनमा पुललाई मर्मत गर्ने कार्यमा पहलकदमी लिने बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.