जनप्रतिनिधिहरुसँग सुरक्षित बैदेसिक रोजगारीको बिषयमा छलफल

दिपिन ढुङ्गाना/सुरक्षित बैदेसिक रोजगारीको लागी बैदेसिक रोजगारीमा जानेहरुको अभिलेख राख्नपर्ने जनप्रतिनिधिहरुले बताएका छन् । सिटिजन हेल्प डेस्कले मेलम्चीमा आयोजना गरेको सुरक्षित बैदेसिक रोजगारी सम्बन्धी छलफलमा उहाँहरुले उक्त कुरा बताउनुभएको हो ।

सुरक्षित तरिकाले कसरी बैदेसिक रोजगारीमा जाने भन्ने कुरा आम मानिसमा जानकारी नभएको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले बताउनुभयो । वडामा २ प्रकारका मानिसहरु नागरिकता बनाउन आउने गरेका छन , जस मध्ये नागरिकता चाहिएर र बिदेश जानको लागी नागरिकता बनाउनको लागी आएका थिए ।

नागरिकता बनाउनको लागी सिफारिस लिन आउने बेलामै सुरक्षित बैदेसिक रोजगारीको सहि सुचना दिन सकेमा केहि केहि हदसम्म समस्या समाधान गर्न सकिने मेलम्ची ९ का वडा अध्यक्ष कमल बहादुर खड्काको धारणा थियो । सोहि प्रसंगमा मेलम्ची १ का वडा अध्यक्ष कृष्ण चौलागाइँले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर पासपोर्ट बनाउनेको अभिलेख लिनपर्ने धारणा ब्यक्त गर्नुभयो ।

बैदेसिक रोजगारीमा गएको ब्यक्ती कुन देश गएको भन्ने अभिलेख वडामा नहुने भएकाले समस्या समाधान गर्न कठिन हुने मेलम्ची ५ का वडा अध्यक्ष सुदर्शन लुइटेलले बताउनुभयो । साथै छिमेकीको लहिलहिमा लागेर बिदेश जानेगरेकाले पनि मानिसहरु समस्यामा पर्नेगरेको उहाँको धारणा थियो । सोहि प्रशंगमा मेलम्ची ११ का वडा सदस्य टिका दत्त धितालले बैदेसिक रोजगार सुरक्षित हुन नसक्नुमा राज्य संयन्त्र नै कमजोर भएको धारणा राख्नुभयो ।

साथै छलफलमा सहभागी अन्य जनप्रतिनिधिहरुले पनि सिपमुलक सिक्षा भएमा बैदेसिक रोजगारीको दर घट्ने बताउनुभएको थियो । यसैबिच जनप्रतिनिधिहरुले सम्पुर्ण वडा तथा नगरपालिकामा सुरक्षित बैदेसिक रोजगारीको सुचना केन्द्र स्थापना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।


Lokpriyasamachar@. Powered by Blogger.