सुख्खा बन्दरगाह निर्माणमा तीव्रता

लोकप्रिय समाचार/चिनियाँ ठेकेदारले बाह्रबिसे तातोपानीको लार्चामा सुख्खा बन्दरगाहको निर्माणलाई तीव्रता दिएको छ । भूकम्पपछि रोकिएको निर्माणले तीव्रता पाएको हो । चिनियाँ रेलवे कन्ट्रक्सन ग्रुप (सीआरसीसी)ले आठ महिनामा पूरा गर्ने लक्ष्य राखेर निर्माण अघि बढाएको छ ।

अहिले बन्दरगाहको बिल्डिङ, रङरोगन, कम्पाउन्डलगायतको काम गरिरहेको छ । ‘बन्दरगाहको झन्डै ६० प्रतिशत काम सकिएको छ,’ सीआरसीसीका नेपाली भाषा अनुवादक रामकृष्ण दुलालले भन्नुभयो । ठेकेदार कम्पनीका अनुसार ७ एक्साभेटर, १० वटा टिपरलगायत अत्याधुनिक उपरकणद्वारा प्रयोग गरेर बन्दरगाहको निर्माण भइरहेको छ । नेपाली र चिनियाँका ४५ कामदार दैनिक काममा छन् ।


चीनको आर्थिक सहयोगमा २०६९ पुसबाट निर्माण सुरु भएको बन्दरगाह अन्तर्राष्ट्रिय मापदण्डअनुसारको छ । यसको लागत १ अर्ब २० करोडको रहेको छ । निर्माण थालेको २ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखे पनि जुरे पहिरो, भूकम्प र बाढीले रोक्दै आएको थियो । राजमार्गबाट बन्दरगाह जोड्न भोटेकोसीमा बनाइएको पक्की पुलको निर्माण अन्तिम चरणमा पुग्न लाग्दा २०७१ मा बाढीले बगाएको थियो । पुनः साउन १७ मा आएको जुरे पहिरो र ०७२ को भूकम्पले बन्दरगाहको निर्माण पूरा ठप्प बनाएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.