भारतको राजनीतिमा नेपाल

रामबाबु कोइराला- पुर्वेली आर्य सभ्यता र संस्कृतिको उद्गमस्थल भारतलाई मानिन्छ । ठुला ठुला तपस्वी ऋषिहरूले भारतमै तपस्या गरे भने स्वयम कृष्णको जन्म भारतकै बृन्दाबनमा भएको विश्वास गरिन्छ । भारतको परिचय यतिमा मात्र सिमीत नभई यो बिश्वको सातौ ठुलो देश हो । र बिश्व कै सबैभन्दा धेरै जनसंख्या भएको देश पनि । भारतमा २०१८ को जनगणना अनुसार १ अर्ब ३५ करोड जनसंख्या रहेको छ त्यसमा ९० करोड हाराहारी हिन्दू जनसंख्या छ । त्यसकारण भारत बिश्व मा सबैभन्दा धेरै हिन्दू को बसोबास भएको देश पनि भनिन्छ ।
भारतको राजनितिक ईतिहास धेरै पुरानो छैन । भारतमा लामो समयसम्म बृटिस उपनिवेश रह्यो । भारत बेलायती उपनिवेश बाट स्वतन्त्र भएको जम्मा ७१ वर्ष भएको छ । यस बिचमा भारतमा थुप्रै राजनीतिक परिवर्तनहरू भएका छन । थुप्रै जातीय, धार्मिक र राजनीतिक द्वन्द्व भए । आमनरसंहार र बिखण्डनको राजनितीबाट भारत लामो समय गुज्रीयो । यद्यपि यी तमाम घटनाक्रम का बाबजुत भारत  आज बिश्व को उदयमान शक्ति को रूपमा बिकशित हुदै छ ।  आधुनिक भारतका प्रधानमन्त्री छन नरेंद्र मोदी । मोदी को राजनीतिक पृष्ठभूमि कट्टर हिन्दू संस्कार को जगमा उभीएको छ ।
मोदी गुजरातको मुख्यमन्त्री रहंदा हिन्दू मुसलमान दङ्गामा ३००० भन्दा धेरै जनाको मृत्यु भएको थियो र उक्त दङ्गा भट्काएको आरोपमा अमेरिकाले मोदीलाई यात्रा प्रतिबन्ध लगाएको थियो । यसरी मोदी मुख्मन्त्री हुदै प्रधानमन्त्रीसम्म आइपुग्दा आफुलाई अनुदारवादी हिन्दू नेताको रूपमा स्थापित गरेका छन ।
संसारभरको राजनीतिमा कुनै न कुनै एक मुद्दा प्रमुख भएर आएको छ । अमेरिकामा राष्ट्रीयताको मुद्दा हाबी हुदा अनुदारवादी नेता डोनाल ट्रम्प राष्ट्रपति भए भने बिश्व शक्ति बन्ने होडमा सि जीन पिङ ले शक्ति ब्यक्तीमा केन्द्रीकृत गरी शक्तिशाली राष्ट्रपति भएका छन । यसैको पृष्ठभूमिमा नेपालमा अनुदारवादी कम्युनिस्ट सरकार स्थापना हुन पुगेको छ ।
 नेपाल र भारतको सम्बन्ध मुलतः भारत स्वतन्त्र भएपछि बिकशित भएको हो । नेपाल र भारत बिच राजनीतिक मात्र नभई  सांस्कृतिक धार्मिक साथै परम्परागत सम्बन्ध  कायम छ । यिनै सम्बन्धहरूको उपज नेपालको राजनीतिमा भारतको हस्तक्षेप हुने गरेको पाईन्छ । भारतले नेपालको राजनीति मात्र होईन सामाजिक, आर्थिक पक्षमा समेत सुक्ष्म हस्तक्षेप गर्छ भनिन्छ । संसारका हरेक ठुला राष्ट्र साना राष्ट्रहरू माथी संधै हस्तक्षेपकारी भुमिका खेल्दै आएको ईतिहास ले बताउछ । त्यसकारण नेपाल लगायत अन्य छिमेकी साना राष्ट्र हरू माथी भारत ’ठुल्दाई’ भुमिका  मा छ।  यसरी हेर्दा नेपालमाथी भारतले एकोहोरो दबाब र प्रभाब सिर्जना गरेको देखिन्छ । अब समय बद्लीएको महसुस भएको छ ।
गत बैशाखमा बिहार र दक्षिण भारतीय राज्यहरूको निर्वाचनको  संघारमा मोदी ले नेपाल को भ्रमण गरे । उनले बिषेषतः जानकी मन्दिर र मुक्तिनाथका साथै पशुपतिनाथको दर्शन गरे। यसरी मोदीले नेपालको मन्दिरको भ्रमण गर्नुको पछाडी उक्त राज्य हरूमा भाजपा लाई चुनाव जीताउनु थियो । किनकी उक्त राज्यमा बहुसंख्यक हिन्दुहरू बस्दछन र उनीहरू जानकी मन्दिर, मुक्तिनाथ, पशुपतिनाथ का साथै नेपालको कयौ तिर्थ तथा मन्दिर लाई  आगाध श्रद्धा गर्छन । मोदी आफु हिन्दू को पक्ष मा रहेको सन्देश दिन चाहान्थे र दिए। भर्खरमात्र भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल हुदै कैलाश मानसरोवरको तिर्थाटन गर्न गएका छन् । उनको यो भ्रमण राजनीतिक  उद्देश्यबाट प्रेरित रहेको बिष्लेशण गरिएको छ । कांग्रेस पनि हिन्दूको बिपक्षमा नरहेको सन्देश दिन खोजीएको देखिन्छ । यसको अर्थ भारतको राजनितीमा धार्मिक प्रभाव कति जबरदस्त रूपमा बलियो भएको छ भन्ने देखाउछ । जसको लाभ नेपाल लिनुको साथै भारतीय राजनीतिमा प्रभाब बिस्तारको सुनौलो अबसर समेत हुन सक्दछ । नेपाल एक सनातन हिन्दू राष्ट्र हो । नेपालका धार्मिक तिर्थस्थलहरू बिश्व भरका हिन्दू र बौद्धमार्गीको गन्तव्यस्थल हो । र नेपालका तिर्थस्थलले पौराणिक महत्व बोकेका छन ।
नेपालका धार्मिक पर्यटनमध्ये सबै भन्दा धेरै भारतीय पर्यटक छन । यसरी नेपाल प्रति भारतको बढ्दो तिर्थाटनको आकर्षणलाई राम्रो उपयोग गर्दै नेपाल र भारत बिचको आर्थिक,  राजनीतिक र सामाजिक सम्बन्ध मा सन्तुलन गर्ने प्रयास गर्नु उत्तम हुनेछ ।

Lokpriyasamachar@. Powered by Blogger.