राष्ट्रिय शिक्षा दिवस सम्पन्न, गुणस्तरीय शिक्षाको लागि सबैको सहयोग आवश्यक– सापकोटा

समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार भन्ने मूल नाराका साथ शनिबार देशभर ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस मनाइएको छ ।
सिन्धुपाल्चोकको चौतारामा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले संघीय सांसद अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा यो दिवस मनाएको हो । दिवसको अवसरमा नगरपालिकाको तर्फबाट सिन्धुसन्देश पत्रिकाको विमोचन तथा वक्तृत्वकला प्रतियोगिता समेत गरेको थियो ।

नगरपालिका भित्र रहेका विद्यालयका विद्यार्थी शिक्षकहरुको उपस्थितिमा सहिद स्मृति भवनमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अग्निप्रसाद सापकोटाले राज्यले शिक्षा विकासमा धेरै खर्च गरेको बताउनुभयो । उहाँले जहाँ शिक्षाको विकास हुन्छ, त्यहाँ समाजवादी शिक्षा र दक्ष जनशक्तिको विकास हुन्छ, दक्ष जनशक्तिको विकास भएपछि मात्र राष्ट्रको विकास हुन्छ भन्नुहुँदै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
पूर्व प्रअ समेत भएर शिक्षा क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नुभएका सापकोटाले शिक्षण पेशाको समस्या, विद्यार्थीको समस्या सबै आफूले बुझेको बताउँदै जस्तोसुकै समस्या भएपनि गुणस्तरीय शिक्षा प्रदानका लागि पछि हट्न नहुने बताउनुभयो ।
कार्यक्रममा सहभागि अन्य वक्ताहरुले शिक्षा विकासका लागि राज्यले गर्नुपर्ने दायित्व, राज्यको तर्फबाट गर्नुपर्ने समस्याको समाधानको विषयमा विषेश चासो दिनुपर्ने बताएका छन् ।
नगरप्रमुख अमानसिं तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा शिक्षा सम्बन्धी कविता तथा विभिन्न विद्यालयहरुबाट नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको समापन गर्दै नगरप्रमुख तामाङले नगरको कोही पनि नागरिक शिक्षाबाट वञ्चित नरहने भन्दै आफूले विभिन्न समयमा शिक्षा विकासका  कार्यक्रमहरुलाई अवलम्बन गरिरहेको बताउनुभयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको विव्यसको तर्फबाट सोम सापकोटा, प्रअको तर्फबाट ध्रुवलाल श्रेष्ठ र पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.