म र मेरो बा

कृष्णप्रसाद ढुङ्गाना/उबेला म सानो छँदा मेरो बा जवान हुनुहुन्थ्यो, जवानीका बा जस्तै म कहिले बनुँला भन्ने लागिरहन्थ्यो । मलाई महसुस हुन्थ्योः मेरा बासँग धेरै ज्ञान छ, जानकारी छ, उहाँ धेरै विद्धान हुनुहुन्छ । उहाँमा धेरै खालका काम गर्न सक्ने खुबी छ अनि उहाँ गाउँको एउटा सक्षम मान्छे । उहाँ जत्तिकै सक्षम मान्छे बन्न सकुँला वा सक्दिनँ भन्ने चिन्तन मेरो मनमा आइरहन्थ्यो । बा मा कुनै किसिमको अपूर्णता छ जस्तो पटक्कै लागेन । मैले जीवनलाई बासँग तुलना गर्दै गएँ बा जस्तै बन्ने सपना बोकिरहेँ । तर त्यो सपना कहिले र कसरी पूरा हुन्छ मसँग न कुनै योजना थियो न कुनै उपाय ।
मलाई सधैं मेरा बा प्रति गर्व छ । किनभने उहाँले मलाई प्रसस्तै अर्ती र उपदेश दिनुभएको छ । धरै अनुभव सुनाउनुभएको छ । मलाई जीवनमा केही गर्न उक्साइ रहनुभएको छ । अरुको आस पूरा गरेस्, तर अर्काको आसमा बाँच्न कहिल्यै नपरोस्, उहाँले दिने गरेको यो आशिर्वाद एउटा सामान्य वाक्य हो तरपनि यसभित्र धेरै सन्दर्भ जोडिएको छ । अरुको आश पुर्याउन सक्नु भनेको जीवनको अचुक उपलब्धी हो । सायद सफल जीवनको एउटा अन्तिम गन्तव्य पनि हो । यही वाक्यमा सारा जीवनको अपेक्षा र उदेश्यहरुको सूची लुकेको रहेछ, जब म केही जान्ने बुझ्ने भएँ अनि बिस्तारै त्यसको अर्थबोध हुन थाल्यो ।
हामी सहज अनुमान लगाउन सक्छौं, हाम्रो बाल्यकाल जसरी बित्यो त्यो भन्दा फरक तरिकाले नै मेरा बा को बाल्यकाल बित्यो । यसको प्रमाण अहिलेका पछिल्लो पुस्ताको बाल्यकाल र हाम्रो बाल्यकाललाई तुलना गर्ने हो भने सहजै पाउन सकिन्छ । बस्, फरक कस्तो खालको भन्ने मात्र हो ।
हाम्रा बाले कहिलेकाँही आफुले गरेको गल्तिीको क्रममा भन्ने गर्नुहुन्थ्यो, इख नभएको मान्छे र विष नभएको सर्प कहिल्यै काम लाग्दैन, त्यसको औचित्य हुँदैन । बास्तबमै सकारात्मक इश्र्याले मानिसलाई सफल बनाउँछ, गन्तव्यमा पुर्याउन बाटो कोर्छ । यत्ति कुरा आफैंले अनुभुत गरेर सिक्न धेरै समय लागेछ । कखरा नपढ्नुभएका मेरा बा को यो बुझाईमा कति गहिराइ रहेछ, कहिलेकाँही घोत्लिएर सोच्न मन लाग्छ ।
मेरा बा उहिले पुरानो जमानाको मान्छे, ऊ बेला जुत्ता चप्पल त परै जावस् सुरुवाल लाउनु भनेको पनि ठुलै भद्र भलादमी ठहरिनु हो रे । स्कुल पढ्ने भन्ने कुरै छाडौं, सक्नेले पण्डित पालेर शात्रार्थ गर्ने चलन थियो भन्ने हामीले सुनेका हौ । यद्यपी हाम्रा बा मा न त्यो पण्ड्त्यिाइँको साथ थियो, न कुनै स्कुले जीवन को अनुभव । उहाँका मौखिक हिसाबलाई बुझन् मलाई क्याल्ुलेरटमा बा को भन्दा बढी समय लाग्छ । मलाई पुरातन लाग्ने कयौं सोचहरु उहाँसँग बैज्ञानिक तथ्यमा आधिारित छन् । हामीलाई रुढीबादी लाग्ने कतिपय संस्कारहरु उहाँसँग जीवनउपायोगी सीपका रुपमा छन् । त्यसैले मेरा बा मेरो बृहद् ज्ञान कोष हो शब्दकोष हो । मानव सभ्यताको वर्णन गरिएको एउटा महाभारत हो । त्यसैले मैले मेरो बालाई धेरै पढ्न पाएको छु र पढ्दै छु ।
मैले सानोमा बा प्रति जुन धारणा बनाएको थिएँ । त्यो एउटा फरक भ्रम रहेछ किनभने मलाई मेरो बा ले बा जस्तो बनाउन चाहनुभएन तर म सधैं बा जस्तै बन्ने सपना राख्थेँ । बा ले आफूमा धेरै कुरा अपुग रहेको हुनाले आफूमा रहेको अपूर्णता मेरो छोरोमा नहोस्् भन्ने चाहना राख्नुभएको रहेछ र त मलाई स्कुल जान दबाब दिनु भो, हौस्याउनुभो अनि पढ्नका निम्ति जबरजस्ती गर्नुभो । म र बा को सोचमा यत्ति फरक रहेछ कि म बा जस्तो बन्न चाहन्थें तर बा मलाई आफूभन्दा अर्कै बनाउन चाहनु हुन्थ्यो । बा र म बीचको यहि ग्याप थियो, पुस्त्यौली ग्याप ।
गाइबाख्रा चराउने, पारी पाखामा काटेर घाँसको भारी बनाउने, अनि गाउँबेसी उकाली, ओराली यस्तै यस्तैमा बाको बाल्यकाल बित्यो, जवानी फूल्यो, बुढ्यौली लाग्यो तर म भने किताब, कापी अनि स्कुलको चौरमा साथीभाइसँग उफ्रि खेली हुर्किएको मान्छे । कछाड र खाली खुट्टामा हुर्कदै गरेको ऊ बेलाको मेरो बा र सर्ट फाइन्ट अनि जुत्ता मोजामा हुर्किएको मेरो बाल्यकालमा नितान्त फरक छ । तर म मा बाको त्यो पौरखी मन र बान्की मिलाएर बनाएका घाँसका मुठी, सलक्क खनिएको खेतका गरा र बारीका पाटा अनि आकर्षक तरिकाले गरिएको खेतिपातीका काम पक्कै पनि उस्तै हुने कुरै भएन । मैले बा नबुझेको वा बाले मलाई नबुझेको सधैं दोधारमा छु म ।
म र मेरा बाका सोचहरु फरक हुन थाल्नु यो एउटा पुस्त्यौली अन्तर त थियो नै त्यस माथी म मा रहेको अल्पज्ञान । मैले मेरो बा बाट धेरै सिकेको छु, त्यसैले मेरो बा एउटा बृहत किताब हो । जसभित्र, भुगोल, अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, धर्मशास्त्र लगायतको सम्पूर्ण ज्ञान एकिकृत छ । मैले केबल केही पाना मात्र पल्टाएको छु , केही पाना मात्र पढेको छु । धरै भाग पढ्न बाँकी नै छ । म भने कलेजका कुना कुनामा ति विषयका ग्रन्थहरु खोजी खोजी चित्त पल्टाएर दौडिरहेको छु ।
मेटिँदै गएका पुराना पुस्ताका अनुभव, विचार र संस्कारहरु जुन परिवर्तित समय सन्दर्भसँग कसरी उपयोग गर्न सकिन्छ, यसतर्फ नयाँ पुस्ता कति गम्भिर छ, छैन, यो एउटा चिन्तनको विषय हो । पुराना मान्यताहरु सबै गलत हुन्, निस्काम छन् भन्ने अधकल्चो मान्यतालाई चिर्न र सिकाइलाई पुस्त्यौली स्थानान्तरणमा रचनात्मक बन्ने सिकाइ अहिलेको आवश्यकता हो ।
परेर सिकेका अनि गरेर जानेका विषयलाई छाँयाँमा पारी अनुमानमा बनाइएका धारणा कदापी बस्तुपरक हुन सक्दैनन् । त्यसैले पुराना पुस्ताका अनुभव, सिकाइलाई नयाँ पुस्तासँग साक्षात्कार गराउन र त्यसको जगमा नयाँ अनुभव विकास गर्न सके सिकाइ व्यवहारिक र सार्थक बन्न सक्छ ।
(लेखक ढुङ्गाना श्री तेर्से माध्यमिक विद्यालय, मेलम्ची न.पा. ६, तालामाराङका प्रधानाध्यापक हुनुहुन्छ ।)


Lokpriyasamachar@. Powered by Blogger.