बजारलाई थप व्यवस्थित बनाउन बाह्रबिसेमा नगर प्रहरी

लोकप्रिय समाचार/सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिकामध्ये बाह्रविसे नगरपालिकाले नगर प्रहरी राखेर बजारलाई थप व्यवस्थित बनाउन शुरू गरेको छ । नगरपालिकाको आफ्नै स्रोतमा हाललाई चार जना नगर प्रहरी राखिएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिनुभयो । नगर प्रहरीले बिहान १० देखि ५ बजेसम्म सडकमा ड्युटी गर्ने मेयर शेर्पाले जानकारी दिनुभयो ।
यसैबीच बाह्रविसे नगरपालिकाले बजारलाई व्यवस्थित बनाउन सडक अतिक्रमण गरेर निर्माण गरिएका अस्थायी टहरा हटाउन शुरू गरेको छ । बाह्रविसे बजारलाई व्यवस्थित बनाउन नगरपालिकाले सडक पेटी छेउमा निर्माण गरिएका टहरालगायत संरचनाहरु भत्काउन थालेको हो ।
नगरपालिकाले यसअघि बजारबासीलाई आफ्नो घर छेउको टहरा र पेटी मिचेर बनाएको अस्थायी संरचना हटाउन अनुरोध गरेको थियो । नगरपालिकाले अनुरोध गरेसँगै खोर्सानीबारी र साँधीखोला आसपासमा स्थानीयले स्वतः स्फुर्त रुपमा घर छेउको संरचना हटाउन शुरू गरेको जनाएको छ ।
बाह्रविसे बजारको राम्चे खण्डमा समेत स्थानीय आफैंले आफ्नो घर छेउको टहरा लगायत अन्य संरचना हटाएको मेयर शेर्पाले बताउनुभयो । सडक पेटी अतिक्रमण गरेर निर्माण गरिएको टस, कम्पाउण्ड वालसमेत भत्काएर बजारलाई व्यवस्थित बनाउन लागिएको मेयर शेर्पाले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.