मर्मत हुँदै ग्रामीण क्षेत्रका सडक

लोकप्रिय समाचार–चाडपर्व नजिकिएसँगै सिन्धुपाल्चोकमा वर्षायाममा अवरुद्ध भएका ग्रामीण सडक मर्मतको काम सुरु भएको छ । नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै गाउँ – नगरले बजार केन्द्र र गाउँबस्ती जोड्ने मुख्य सडक मर्मतको काम सुरु गरेका हुन् ।
वर्षाले सडक क्षतविक्षत बनाएपछि सडक सुविधाबाट बञ्चित स्थानीयलाई चाडवाडमा सहज होस् भनेर सडक मर्मत सुधारको काम थालिएको जनप्रतिनिधिले बताएका छन् । चाडवाडका बेलामा ग्रामीण सडकमा पनि सवारी चाप बढ्ने भएकाले मर्मतको काम सुरु गरिएको जुगल गाउँपालिका–५ का अध्यक्ष सनत अधिकारीले बताउनुभयो । सडक मर्मत सुधार भएसँगै यात्रुबस गाउँसम्मै पुग्न थालेका छन् । चाडपर्वलाई लक्षित गर्दै गाउँपालिकाको कार्यालय र वडा कार्यालयले संयुक्त रुपमा ग्रामीण सडक मर्मत र सफाइ गरेको बलेफी गाउँपालिका–५ का अध्यक्ष विकास श्रेष्ठले बताउनुभयो ।
बर्खामा अवरुद्ध बनेका सडकमा दशैं अगावै यात्रुबस सञ्चालनमा आउने उहाँले बताउनुभयो । नेपालीको महत्वपुर्ण चाड दशैंमा सहज रुपमा घर जान सजिलो होस् भनेर सडक मर्मत सुरु गरिएको बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो । अघिल्ला वर्षहरुमा जिल्ला समन्वय समितिले नै दशैं अगावै जिल्लाका ग्रामीण सडक मर्मत र सुधार गर्दै आएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.