पुनर्निर्माणमा जुट्न तामाङको आग्रह

पूर्वकानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भूकम्प प्रभावितलाई पुनःनिर्माणमा जुट्न आग्रह गर्नुभएको छ ।

वर्षा सकिएकाले अब घर निर्माणमा सामान ढुवानी गर्न समस्या नहुने भन्दै घर बनाउन बाँकी सबैलाई छिटोभन्दा छिटो घर बनाउन आग्रह गर्नुभएको हो ।


मेलम्ची नगरपालिका–१२ गिरानचौरमा हिजो सामुदायिक पुस्तकालय भवन तथा स्रोत केन्द्र निर्माणको शिलान्यास कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । तामाङले घर निर्माण गर्दै गर्दा नेपाल पुनःनिर्माण प्राधिकरणले तोकेको समय अपुग भएमा आफूले समय थप गराउन पहल गर्ने पनि बताउनुभयो । प्रदेश नं. ३ का सांसद इन्द्रमाया गुरुङले धुर्मुस सुन्तली फाउण्डेशनले ६५ घरको एकीकृत बस्ती निर्माण सम्पन्न गरेपश्चात पुस्तकालय निर्माणका लागि रिड नेपालसँग समन्वयको काम गरेकामा खुशी व्यक्त गर्नुभयो ।

रिड नेपालको आर्थिक सहयोग र धुर्मुस सुन्तली फाउण्डेशनको समन्वयमा गिरानचौरमा बन्ने सामुदायिक पुस्तकालय निर्माणको अनुमानित लागत रु एक करोड ६४ लाख १२ हजार रहेको छ । पुस्तकालय निर्माणका लागि स्थानीय बासिन्दा तुलसीप्रसाद गिरीले तीन आना, तुलाराम गिरीले छ आना, कमला थापाले दुई आना र स्व नानीमैयाँ तिवारीले सात आना जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो ।

पुस्तकालय निर्माणपछि मेलम्ची नगरपालिका–१ को जल्केश्वरी प्रावि, मेलम्ची–१२ को लालीगुराँस प्रावि, जालपादेवी मावि र महाकाली माविका दुई हजार ४०० विद्यार्थीले प्रत्यक्ष लाभ लिन सक्ने रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस संस्थाले हाल ४२ जिल्लामा ६८ पुस्तकालय निर्माण गरेको छ । यसअघि सिन्धुपाल्चोकको भोटसिपा र ठोकर्पामा पुस्तकालय निर्माण सम्पन्न गरेको छ । पुस्तकालय बालबालिका, युवा, अपाङ्ग, महिला मैत्री बनाइने पनि श्रेष्ठले जानकारी दिनुभयो । रासस

,
Lokpriyasamachar@. Powered by Blogger.