चोरी मुद्धाका फरार व्यक्ति पक्राउ

लोकप्रिय समाचार/जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्लाका सबै गाउँ तथा वडाहरुमा शान्ति सुरक्षामा कुनैपनि कमि कमजोरी हुन नदिन सक्रियता अपनाइरहँदा फरार कैदीहरु समेत पक्रने क्रममा वृद्धि भएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिई गएको प्रहरी टोलीले अदालतबाट फैसला भई कैद भुक्तानी गर्न बाँकी रहेको फरार सिन्धुपाल्चोक साविक फुल्पिङकोट गा.वि.स.वडा न.६ हाल परिवर्तित बलेफि गाँउपालिका वडा न.२ वस्ने वर्ष ३५ को छेवाङ पाख्रिनलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

अदालतले मंगलबार नै कारागारमा जिम्मा लगाएको प्रहरी नायव उपरिक्षक विमलराज कँडेलले जानकारी दिनुभएको छ ।

२०७१ माघ १९ गते पाख्रिनलाई १ महिना १५ दिन कैद र १,५६,३०६।– जरिवाना तोकिएकोमा सो जरिवाना समेतलाई कैदमा परिणत गर्दा हुन आउने जम्मा ४ वर्ष १९ दिनको कैद भुक्तानी गर्नुपर्नेमा सोही मितिदेखि फरार रहेका जवरजस्ती चोरी मुद्धाका पाख्रिनलाई पक्राउ गरी बुझाएको हो ।

विभिन्न मितिमा अदालतबाट फैसला भई कैद तथा जरिवाना नतिरेका, फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विषेश टोली समेत गठन गरी खोजतलाश तथा पक्राउ गर्ने कार्यमा तीव्रता दिइरहेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.