सभामुख महराद्वारा झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास

चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महराले हिजो झांगमु–तातोपानी (सिन्धुपाल्चोक) र केरुङ–रसुवागढी (रसुवा) नाकामा अवस्थित पुलको पुनःनिर्माण र ल्हासास्थित महावाणिज्य दूतावास भवनको शिलान्यास गर्नुभएको छ ।
ल्हासामा आयोजना गरिएको विशेष समारोहकाबीच उहाँले नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रिय मितेरी पुलको पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवनको शिलान्यास गर्नुभएको हो । सभामुख महराको प्रमुख आतिथ्यमा ल्हासाबाटै भिडियो प्रविधिबाट गरिएको उक्त शिलान्यास समारोहमा तिब्बत जनकाङ्ग्रेसका अध्यक्षसहितका पदाधिकारीको सहभागिता रहेको सभामुख महराको सचिवालयले जनाएको छ ।
विसं २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’का कारण नेपाल–चीन जोड्ने दुवै मितेरी पुल क्षतिग्रस्त भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा दुई मितेरी पुल बनाउने सहमति भएसँगै चीन सरकारले पुल पुनःनिर्माणको कार्य अघि बढाउन लागेको हो । यी दुई मितेरी पुल  निर्माण भएसँगै दुई देशबीचको व्यापारका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।
शिलन्यास कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्यदूत, परराष्ट्र मन्त्रालयका सहसचिव, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा नेपाल–चाइना फ्रेण्डसिप एशोसियसनका पदाधिकारीको उपस्थिति रहेको थियो । ल्हासामा शिलान्यास गरिएको उक्त भवन चीन सरकारको स्वामित्वमा नियोगले सन् २०७५ सम्मका लागि भाडामा लिएको हो ।

‘महावाणिज्य दूतावास नेपाल–चीन सम्बन्धको प्रतीक’
पुल पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महराले ल्हासामा रहेको नेपाली वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकका रुपमा रहेको बताउनुभयो ।
ल्हासामा रहेको वाणिज्य दूतावास नेपालको प्राचीन वाणिज्य दूतावासमध्येको एक हो, सभामुख महराले भन्नुभयो, यो वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकका रुपमा रहेको छ र भविष्यमा दुई मुलुकबीचको सम्बन्धको कोसेढुङ्गाका रुपमा रहनेछ ।
ऐतिहासिक केरुङ–रसुवागढी पुल र तातोपानी मितेरी पुल पुनःनिर्माणले नेपाल–चीन सम्बन्धमा अर्को इँटा थप्ने काम गरेको चर्चा गर्दै उहाँले यसले दुवै देशको व्यापार र पर्यटन प्रवद्र्धन गरी जनताको जीवनस्तर उकास्नेमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भूगोल, संस्कृति, धर्म र परम्पराले नेपाल र चीनबीच प्राचीनकालदेखि नै सम्बन्ध रहँदै आएको बताउँदै सभामुख महराले सांस्कृतिक समानता र जीवनशैलीले दुई देशबीचको सम्बन्धलाई झनै प्रगाढ बनाएको उल्लेख गर्नुभयो । दुवै देशका नागरिकले बौद्ध धर्मको अनुशरण गर्नु सांस्कृतिक, धार्मिक सम्बन्धको ज्वलन्त उदाहरण भएको चर्चा गर्दै उहाँले ऐतिहासिक व्यापारिक मार्ग, संस्कृति आदानप्रदान र राजनीतिक अन्तक्र्रिया नेपाल–चीन सम्बन्धका गतिशील पक्ष भएको बताउनुभयो ।
पहिलो पटक आफूले तिब्बत स्वायत्त क्षेत्र भ्रमण गर्दाको क्षण स्मरण गर्दै सभामुख महराले तिब्बतको भौतिक विकासबाट आफू धेरै प्रभावित भएको बताउनुभयो । पहिलोपटक तिब्बत स्वायत्त क्षेत्र भ्रमण गर्दा यसले विगत केही दशकको समयमा गरेको परिवर्तनलाई प्रत्यक्ष अवलोकन गर्ने मौका पाएको थिएँ, उहाँले भन्नुभयो, म विशेष गरी यहाँको भौतिक विकासबाट धेरै प्रभावित भएको छु । यो परिवर्तनको लागि जिम्मेवार, दूरदर्शी नेतृत्व र मेहनती जनतालाई धन्यवाद दिन चाहन्छु ।
तिब्बत प्राचीनकालदेखि नै चीन प्रवेश गर्ने मुख्य मार्गका रुपमा रहेको चर्चा गर्दै सभामुख महराले सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग पाइरहेकामा खुशी व्यक्त गर्नुभयो ।
सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग प्राप्त गरिरहेका छौँ, उहाँले भन्नुभयो, चीनको स्वशासित क्षेत्र तिब्बत हाम्रो घनिष्ठ मित्र, असल छिमेकी र शुभचिन्तक हो । नेपालको बाह्य सम्बन्धको पाटोमा तिब्बतको महत्वपूर्ण स्थान रहेको छ । तिब्बत चीनको एक भाग हो भन्ने कुरामा नेपाल सरकार अडिग रही ‘एक चीन नीति’मा पूर्ण प्रतिबद्ध रहेको दोहो¥याउँदै सभामुख महराले नेपाली भूमि कुनै पनि छिमेकी राष्ट्रको हितविपरीत प्रयोग हुन नदिने कुरामा सजग रहेको बताउनुभयो । रासस


Lokpriyasamachar@. Powered by Blogger.