सानुको कवितासंग्रह ‘सम्झना’ लोकार्पण

लोकप्रिय समाचार/कवि सानु घलानको कवितासंग्रह सम्झना रेडियो मेलम्चीमा विशेष कार्यक्रम गरी लोकार्पण गरिएको छ । कवि घलानको कृतिमा समावेश कविता वाचन तथा कविताबारे छलफल गरी कृतिको लोकार्पण गरिएको हो ।

कवि घलानले कविता वाचन गरी शुरु गरिएको कार्यक्रममा कवि रमेश चापागाईं र डम्बर रसिक भारतीले उहाँका कविताबारे चर्चा गर्नुभयो । कविताबारे चर्चा गर्दै कवि रमेश चापागाईंले उहाँका कवितामा प्रकृतिप्रेम र राष्ट्रप्रेम पाइने बताउनुभयो ।

आफ्नो जन्मस्थान वरपरको भूगोल, नदीनाला, बोटवृक्ष, हिमाल, टाकुरा, छहराप्रति उहाँको अगाध माया रहेको उहाँले चर्चा गर्नुभयो । कविताबारे चर्चा गर्दै डम्बर रसिक भारतीले कवि घलान आफ्ना कवितामार्फत समाजमा शिक्षा, सन्देश दिन चाहन्छन् भन्नुभयो । कवि सानु घलानले दुःखपीडा र संघर्षले कविता जन्माएको बताउनुभयो ।

लोकार्पणको नयाँ प्रयोगका रुपमा रेडियोबाटै कविताबारे चर्चा गरी लोकार्पण गरिएको यो पहिलो प्रयोग हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.