अधिकांश पसल दर्ताबिना सञ्चालनमा

देवराज सुवेदी/मेलम्ची नगरपालिकाका अधिकांश पसल दर्ताबिना सञ्चालन गरिएको पाइएको छ । मेलम्ची नगरपालिकाको नियमित अनुगमनको क्रममा  सो कुरा पाइएको हो । चाडबाड नजिकिएसँगै नगरले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

अनुगमन गरिएका ५ सय ५५ व्यवसायमाध्ये तीस प्रतिशत नगरपालिकामा र चालीस  प्रतिशत स्थायी लेखा नम्बर (प्यान) मा मात्र दर्ता गरिएको पाइएको अनुगमन समितिका संयोजक रामबहादुर लामाले जानकारी दिनुभयो । प्रायः घरधनीले मञ्जुरीनामा नदिएकाले दर्ता गर्न समस्या भएको व्यवसायीले गुनासो गरेको पनि लामाले जानकारी दिनुभयो ।
यता व्यवसायीले  भने कर मात्र लिएर नगरले कुनै सुबिधा नदिएको गुनासो गरेका छन् । तालामाराङका व्यवसायी रामकृष्ण देउजाले सहुलियत केही नदिई नगरले कर मात्र लिएको गुनासो गर्नुभएको छ ।
त्यस्तै अर्का व्यवसायी दिपबहादुर पण्डितले स्वरोजगार भई अगाडि बढ्न खोज्नेलाई नगरले सहुलियत केही नदिई कर मात्र लगाएर दुःख दिएको आरोप लगाउनुभएको छ ।
नगरपालिकाका नायब सुब्बा राजेन्द्र दुलालले १५ दिनभित्र दर्ता प्रक्रियामा आउन अनुगमनका क्रममा पत्र दिएको र प्रक्रियामा नआए पाँच हजार जरिवाना गरिने बताउनुभयो ।
मेलम्ची नगरले अनुगमनलाई निरन्तरता दिई व्यवसायलाई करको दायरामा ल्याउनुका साथै मूल्यसूची र गुणस्तरीय सामान विक्रीमा जोड दिने जानकारी दिएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.