बृहत् सिन्धु साहित्य सम्मेलन एक संस्मरण


लक्ष्मी निरौला
कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुपाल्चोकमा सरुवा भएर आउनासाथ मेरो मनमा उब्जिएको एउटा बृहत् साहित्यिक कार्यक्रम गर्ने सोचले त्यसबेला मात्र आकार ग्रहण गर्न सक्यो, जब चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिंह तामाङ्ग मेरो कार्यालयमाअन्य कुनै कामका सिलसिलामा आएका बेला मैले योजना सुनाएको थिएँ र मेरो पहिलै वचनलाई सहर्ष स्वीकार गरी वहाँले मलाई अगाडि बढ्न भन्नुभएको थियो ।

नगर प्रमुखज्यूको सकारात्मक संकेत पाएपछि मैले चौताराका स्थायी वासिन्दा साहित्यकार तथा कलाकार अमित घिमिरेलाई आफ्नो निवासमा बोलाएर योजनाका विषयमा जानकारी गराउँदा वहाँले पनि सहर्ष स्वीकार गर्दै भन्नुभयो “सर यो काम त हामीले गर्नु पर्दथ्यो, सरले बाहिरबाट आएर गर्नलाग्नु भयो, हामी मन, वचन र कर्मले यसमा लाग्नेछौँ । बरु म आफैँ रहेको सिन्धु साहित्य अभिलेखालय पनि यस महाअभियानको अंशियार बन्न चाहन्छ ।” वहाँसँग कुरा भएकै दिन किश्मा किशोर लगायतका साथीहरुलाई लिएर वहाँ फेरि आउनुभयो र हामीले थप योजनाहरु बनाउन थाल्यौँ । यसरी उक्त कार्यक्रमका आयोजकका रुपमा कर्मचारी मिलन केन्द्र र सिन्धु साहित्य अभिलेखालयले कार्यक्रमको चाँजोपाँजो मिलाए ।
मैले राजधानीमा रहेका साहित्यिक, साँस्कृतिक र प्राज्ञिक क्षेत्रका हस्तीहरुसँग सो योजना बारे फोनमै कुराकानी शुरु गरेँ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जिवेन्द्रदेव गिरी तथा नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले केही सुझावहरु सहित आफूहरु कार्यक्रममा आउने इच्छा जाहेर गर्नुभयो । यसले ममा थप उर्जा प्रवाह भयो र असार ९ को प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सव पछि असार १६ र १७ गते बृहत् सिन्धु साहित्य सम्मेलनको नाममा कार्यक्रम गर्ने टुङ्गो लाग्यो । तर पछि बंगलादेशबाट असार १४ गते फर्कने हवाइटिकट नमिलेर १७ गते मात्र नेपाल आउनु भएकाले जिवेन्द्र सर भने आउन पाउनु भएन । जे होस् कार्यक्रमका प्रमुख अतिथि गणेश रसिक तथा विशिष्ट अतिथि नेपाली भाषा र साहित्यका मूर्धन्य व्यक्तित्व शब्दसागरका सर्जक युगपुरुष वसन्तकुमार शम्र्मा नेपालको उपस्थिति तथा वहाँहरुले व्यक्त गर्नु भएका बहुमूल्य विचारहरुले भने सिन्धुको साहित्यिक इतिहासमै महत्वपूर्ण हलचल ल्याएको महशुस गरिएको छ । कार्यक्रममा आउने अधिकतम प्रयास गर्दागर्दै पनि आउन नसकेका प्राज्ञहरू अमर गिरी र श्रवण मुकारुङ्ग, डा. देवी नेपाल, अनिल पौडेल, जयन्ता पोखरेल, फूलमान बललगायतका स्थापित स्रष्टाहरूले टाढैबाट भए पनि राख्नु भएको सद्भावलाई समेत हामीले सम्पत्तिका रुपमा लिएका छौँ ।
“हिमालको माया नभएर मेरो श्रीमान् परदेशिनु भएको होइन,
माटोको विश्वास नभएर उहाँले देश छोड्नु भएको होइन,
संगिनीको सामिप्यता लत्याएर उहाँ भौतारिनु भएको होइन ।
हो त केवल
तिमीले थमाएको डिग्री पासको सर्टिफिकेटले तिम्रै महंगी किन्न नसकेर हो ।”
यी पंक्तिहरु चौतारा साँगाचोकगढी नगरपालिकाको विशेष सहयोगमा कर्मचारी मिलन केन्द्र र सिन्धु साहित्य अभिलेखालयको संयुक्त आयोजनामा सञ्चालित सोही कार्यक्रमको सन्दर्भमा आयोजित प्रदेश नं. ३ स्तरीय कविता प्रतियोगितामा प्रथम भएकी सिन्धुपाल्चोककी कवि रोजिना पराजुलीको कविता परदेशिनुको विवशताबाट साभार गरिएका हुन् । उक्त प्रतियोगितामा रामेछापकी शीतल थोकर तामाङको कविता सिमानाको सिपाही दोस्रो, सिन्धुलीका नविन संघर्षको कविता परदेशी तेस्रो र काभ्रेपलाञ्चोककी अनामिका सजलको कविता कलीयुगकी कुन्तीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
जिन्दगीका अनगिन्ती यात्राहरुमा सयौँ र हजारौँ युवाहरु विवशतावस बिदेशिनु परेको तीतो यथार्थलाई प्रथम हुने कविताले बोकेको थियो भने दोस्रो भएको कविताले सिमानाको सिपाहीलाई यसरी प्रस्तुत गरेको थियो .....
“अब मलाई आफ्नो पहिचान बदल्नु छ,
मलाई काँडा हुने मन छ ।
काँडा हुनु भनेको कुरुप हुनु पटक्कै होइन,
बरु फूलहरुको रक्षा गर्नु हो ।
काँडा बन्नु भनेको आफ्नो खुट्टामा आफैँ उभिनु पनि हो,
साँच्चै, मलाई उभेर सिमानामा एउटा बार बन्ने मन छ ।
जुन बारले,
अर्को सिमानाको कुदृश्य कहिल्यै छेक्न नपरोस्,
कहिले पनि अर्को पदचाप सुन्न नपरोस् ।”
राष्ट्र र राष्ट्रियतालाई आफ्नो कविताको केन्द्रीय भावमा समेटेको उल्लिखित कविता जस्तै सबै प्रतियोगी कविताहरु सुन्दर र सशक्त थिए ।
सिन्धुपाल्चोकको साहित्यिक इतिहासमै विशेष महत्व राख्ने चौतारा बजारमा आयोजित उक्त कार्यक्रममा जिल्लाको साहित्यिक इतिहासको प्रस्तुति गरिएको थियो । स्रष्टा अमित घिमिरे र किश्मा किशोरको मेहनतमा तयार गरिएको  उक्त प्रस्तुतिमा रेवतीरमण न्यौपानेले आजभन्दा ११० वर्ष अगाडि  विश्वजीतलीला महाकाव्यको अनुवाद गरी प्रारम्भ गरेको सिन्धुको साहित्यिक इतिहासले केदारमान व्यथित, खिलबहादुर भावुक, नरेन्द्रराज पौडेल, नहकुल सिलवाल, जगन्नाथ आचार्य, चन्द्रप्रसाद न्यौपाने, सुरेश कसजू, अमित घिमिरे, जीवन श्रेष्ठ, रापी वशिष्ठ जस्ता सैयौँ स्रष्टाहरु जन्माएको गर्विलो इतिहास समेटिएको थियो ।
“विश्वजीतलीला महाकाव्य नेपाली भाषामा रामायण पछिको पहिलो काव्य हो” सम्मेलनको दोस्रो दिन भएको मूल समारोहका विशिष्ट अतिथि युगपुरुष वसन्तकुमार शम्र्मा नेपालले समारोहको अध्यक्षका रुपमा रहेको यो पङ्तिकारलाई कानेखुशी गर्दै सुटुक्क बताउँदा म गर्वले फुलेल भएको थिएँ । हो, म यस जिल्लामा आएको अब त १९ महिना पुगिसकेछ, तर रेवतीरमण न्यौपाने र केदारमान व्यथित जस्ता मूर्धन्य साहित्यकारहरु यसै जिल्लाका गहना हुन् भन्ने सामान्य जानकारी पनि राख्न नसकेकोमा मलाई हुनसम्म लज्जाबोध भएको छ । जे होस् यो साहित्य सम्मेलन आयोजनाले मलाई भने अब यस जिल्लामा रहँदा र त्यसपछि पनि नेपाली साहित्य र राजनीति दुबैको पुण्यभूमि यहाँको इतिहास र वर्तमान दुबैबाट केही सिक्ने अभिलाषा भने राम्ररी पलाएको छ । सो अभिलाषा कति पूरा होला भावी दिनहरुले देखाउने नै छन् ।
कार्यक्रमको पहिलो दिन हाम्रा आदरणीय पाहुनाहरु वसन्तकुमार शम्र्मा नेपाल, प्रोल्लास सिन्धुलिय, धीरकुमार श्रेष्ठ, बुनु लामिछाने, प्रतिरोध कार्की, खगेन्द्र खोल्साघरे, अजित नेपाल, गणेश घिमिरे मार्मिक, डम्बर घिमिरे, रिता पहारी, बिमला ढुङ्गेल, थोमस बाँस्तोला, बाबु त्रिपाठी, हीरा के.सी. लगायतको टोलीचौतारा प्रवेश गर्दा बाजागाजा सहित स्वागत गर्ने सुअवसर प्राप्त भयो । बाजा सहित स्वागत गर्ने कार्यमा नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष नरमान श्रेष्ठको विशेष भूमिका रहेको थियो ।
साँझ अतिथिहरूको आवासको व्यवस्था मिलाइएको स्थानीय अरनिको होटलमा गजल महफिल आयोजना गरिएको थियो । आयोजकका तर्फबाट कर्मचारी मिलन केन्द्रका अध्यक्ष लक्ष्मी निरौलाले “नयनको परेलीमा तिमीलाई राखेँ प्रिया,तिम्रै मुटु पाउँ भनी देउराली भाकेँ प्रिया” भन्दै आफ्ना गजलका सेरहरूबाट शुरु गरिएको उक्त महफिलमा युवा पुस्ताका सशक्त गजलकारहरूको गजलका साथै लोक गायक कमलीकान्त भेटवालको लोकगीत “सबै र बाख्रा उकाली लागे घोर्लि बाख्रो खोइ भन” समेत प्रस्तुत भएको थियो ।
“दुःख बुझ्न बस्तीमा कोही सौखिन आउँदैन,
बाजी ठोकेरै भन्छु गरीबको दिन आउँदैन ।”

“म नौलो संसार सोचिरहेछु,
मान्छेको आकार सोचिरहेछु ।”
जस्ता धेरै पक्ष र क्षेत्र समेटेका सशक्त सेरहरुमा बग्दै बग्दै गएको उक्त महफिलमा रोजिना पराजुली, विजय नेपाल, विपिन सलामी, आर्य आयुषा, रुप जिम्बा, जितेन्द्र रसिक, सुन्दर शिरिष, सुलक्षण न्यौपाने आदिका गजलहरुमा दर्शक तथा स्रोताहरु झुम्मिएका देखिन्थे । महफिलमा खासगरी युवापुस्ताका दर्शक स्रोताको सहभागिता देखिनुले वर्तमानमा यो विधाको लोकप्रियताको झल्को दिएको थियो ।
समयलाई वर्तमानका विकृति विसंगतिको मौन दर्शकका रुपमा प्रस्तुत गर्दै दोस्रो दिन अतिथि कवि गणेश घिमिरे मार्मिकले आएउटा कविता यसरी आफ्नो कविता यसरी प्रस्तुत गर्नु भएको थियो ।
विचरा समय,
अझै नोटसँग भोट साट्न विवश छ,
आश्वासनको खोले पिएर रात काट्न विवश छ ।
न उसलाई आफन्तकै विश्वास छ,
छ भने केवल त्रासैत्रास छ,
अनि गरीवीको उपहास छ ।
वर्तमानका विसंगतिमाथि तीखो प्रहार गर्दै सुनाएको समय शीर्षकको कविताको यो अंशले जस्तै अतिथि कविहरुका सबै सबै सिर्जनाहरुले स्रोताहरुको मन छोएका थिए । ४ घण्टासम्म निरन्तर चलेको सोही कार्यक्रममा विशेष अतिथि नेपाली भाषा साहित्यका धरोहर वसन्तकुमार शम्र्मा नेपाललाई चौताराबासीको तर्फबाट अभिनन्दन र प्रमुख अतिथि नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकलाई कदर पत्र अर्पण गरिएको थियो भने सिन्धुपाल्चोकका स्रष्टाहरु स्व. खिलबहादुर भावुक, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने र जीवन श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा स्थापित स्थानीय दैनिक पत्रिका लोकप्रिय समाचारका तर्फबाट समेत प्रमुख अतिथि र विशेष अतिथि ज्यूहरू सम्मानित हुनु भएको थियो ।
सिन्धुको साहित्यिक आकाशलाई चौडा बनाउँदै देशका विभिन्न गाउँ र बस्तीहरुमा मात्र हैन विदेशसम्म विस्तार गर्ने लक्ष्यका साथ आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रसिकले नेपाली साहित्यको श्रीबृद्धिमा सिन्धुका सर्जकहरुको महत्वपूर्ण योगदान रहेको कुरा बताउँदै यस महा अभियानको सारथी र पथप्रदर्शक बनेकोमा चौतारा साँगाचोकगढी नगरपालिका र यसका मेयर अमानसिङ तामाङ्गको प्रशंसा गर्नु भएको थियो । विशिष्ट अतिथि शम्र्माले सिन्धुको साहित्यलाई देश विदेशसम्म पु¥याउन कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रमका सन्दर्भमा प्रतिक्रिया व्यक्त गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिंह तामाङले भाषा, साहित्य र सँस्कृतिको विकास बिना राष्ट्रिय विकासको परिकल्पना गर्नु दिवास्वप्न मात्र हुने यथार्थलाई बुझेर नै आफूले उक्त कार्यक्रममा सहयोग पु¥याएको र कर्मचारी मिलन केन्द्र तथा सिन्धु साहित्य अभिलेखालय यस कार्यमा सहयात्री भएको बताउनु भयो ।
सिन्धुपाल्चोकमा क्रियाशील २ वटा संस्थाहरू आयोजक रहेको सो कार्यक्रममा जिल्लाका दर्जनौँ संस्थाहरुले सहयोग पु¥याएका थिए । कार्यक्रमबाट सिन्धुको साहित्यिक इतिहास रुपी भवनमा एउटा मात्र भए पनि इँटा थप्न सके आयोजनाले सार्थकता पाउने थियो भन्दै सहयोगी सबै मन तथा सहभागी सबै जनहरूप्रति आभार व्यक्त गर्दछु ।
२०७५ असोज१२
चौतारा, सिन्धुपाल्चोक

,
Lokpriyasamachar@. Powered by Blogger.