‘जहाँ सञ्चारको विकास हुन्छ त्यहाँ सामाजको विकास’

जहाँ सञ्चारको विकास हुन्छ त्यहाँ सामाजको विकास हुन्छ । समाजको विकास भयो भने मात्र उद्योग कलकारखाना खुल्छ अनि स्थानिय स्तरमा रोजगारको अवसर मिल्ने उद्योग वाणिज्य महासंघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताउनुभएको छ ।
उहाँले उक्त कुरा बाह्रबिसेमा सञ्चालन हुन लागेको १०६.६ मेगाहर्ज रेडियोको परीक्षण प्रसारण शुभारम्भ कार्यक्रममा बताउनुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथिको तर्फबाट बोल्दै श्रेष्ठले स्थायी विकासको लागि र उद्योगीहरुको स्थायीत्वको लागि सञ्चार क्षेत्रले खेल्ने भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
विषेश अतिथिको तर्फबाट बोल्दै नगर प्रमुख निमफुञ्जो शेर्पाले सञ्चारकर्मी तथा सञ्चार गृहहरु स्वतन्त्र रुपमा सञ्चालन हुनुपर्ने र राम्रालाई राम्रा र नराम्रालाई नराम्रा भनेर औंल्याउनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले सञ्चालन गर्नुपर्ने आवश्यकता भइसकेको थियो, यो आवश्यकता लोकप्रिय नेत्रज्योती सञ्चार समूहले पूरा गरेकोले यो रेडियो सञ्चालनको लागि नगरपालिकाबाट गर्नुपर्ने सबैखाले सहयोगहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले लोकप्रिय नेत्रज्योती सञ्चार समूहलाई नगरपालिकाको तर्फबाट विषेश धन्यवाद समेत दिनुभयो ।    शिक्षाविद् एवम् बुद्धिजिवि यमबहादुर बस्नेतले सञ्चार, शिक्षा र स्वास्थ्य सबै विकासका मेरुदण्ड हुन् भन्दै मानिसलाई सत्य र असत्यको बाटोमा हिँडाउने भूमिका मुख्य  रुपमा सञ्चार क्षेत्रमा रहने बताउनुभयो ।
त्यसकारण सञ्चारकर्मीहरुले सत्यताको पक्षमा मात्र कलम चलाउनुपर्ने बताउनुभयो ।
पत्रकार महासंघका उपाध्यक्ष उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिनाले छापा सञ्चारमाध्यम भन्दा पनि रेडियो, एफएमहरु सञ्चालन गर्न बढी कठिनाई भएको हुँदा यसलाई सबैले सहयोग गरेर संरक्षण गर्नुपर्ने बताउनुभयो । बाह्रबिसे नगरपालिकामा कसैले पनि आँट गर्न नसकेको रेडियो लोकप्रिय नेत्रज्योती सञ्चार समूहले आँट गरेकोमा विषेश धन्यवाद दिँदै सफलताको कामना गर्नुभयो ।
कार्यक्रम लोकप्रिय नेत्रज्योती सञ्चार समूह रेडियो सञ्चालन उपसमितिका संयोजक सचित श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन उपसमितिका सदस्य हेमन्त श्रेष्ठले गर्नुभएको थियो । त्यस्तै संस्थाको गतिविधि तथा रेडियो सञ्चालनको आवश्यकता बारेमा संस्थाका कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेतले प्रकाश पार्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.