चौतारामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम

सन्तोष भण्डारी/चौतारा- नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम संचालन गरेको छ ।
शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले आईतबारबाट राष्ट्रव्यापी रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम संचालन गरेको हो । गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा एक समारोहका बीच कार्यक्रमको शुभारम्भ गर्दै मुलुकलाई समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

 उहाँले दिगो शान्ति कायम गरी मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न नेपाल प्रहरीले सो कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने पहलकदमी गरेको पनि स्पष्ट पार्नुभयो ।

केन्द्र, सबै प्रदेश र ७७ वटै जिल्लामा एक साथ संचालन गरिएको सो कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । ‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम देशभरका टोल टोलमा सञ्चालन गरिनेछ । मुलुकमा हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गईरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले सो कार्यक्रम संचालन गरेको हो ।

यसैबीच नेपाल प्रहरीको शान्ति र स्थायित्वको लागि विभिन्न निकायसँगको समन्वयमा भएको देशव्यापी समुदाय–प्रहरी साझेदारी कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको चौतारामा पनि सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडे, प्रहरी उपरीक्षक मुकुन्द मरासिनी, प्रहरी नायव उपरिक्षक विमलराज कँडेल, सुरक्षा निकायका प्रमुखहरु लगायत नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका व्यक्तिहरु, सञ्चारकर्मीहरु लगायत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि दुर्गा वञ्जाडेले जिल्लाको सुरक्षाका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रहरी प्रमुख उपरीक्षक मुकुन्द मरासिनीले समुदाय प्रहरी साझेदारीका बारेमा बताउँदै सबै स्थानीय तह र समुदायको बीचमा एकाकार भएर काम गर्ने बताउनुभयो । विद्यालयमा पनि बाल हिंसा बढ्न थालेको महसुस भएको बताउँदै १८ वर्षभन्दा कम उमेरका किशोरीहरुमाथि बलात्कारको सिकार हुने सम्भावना बढ्दै गएको हुँदा यसतर्फ सबैले ध्यान पु¥याउनुपर्ने बताउनुभयो । 

उहाँले समाजमा हुने यस्ता अपराधिक घटना हुन नदिन सबै चनाखो हुनुपर्ने र त्यस्ता घटना घटिहालेमा तत्काल प्रहरीमा खबर गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका वडाध्यक्षहरुको तर्फबाट इन्द्रावती गाउँपालिका–७ का बिरबहादुर तामाङ, नगरपालिकको तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नरमान श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिना, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सचिव विलबहादुर तामाङ, नेकपाका नेता यज्ञप्रसाद सापकोटा लगायतले कार्यक्रमको सफलताको कामना गर्दै आफ्नो भनाईहरु राख्नुभएको थियो । कार्यक्रमकोे उद्घाटन विरुवामा पानी हालेर गरिएको थियो । कार्यक्रम सञ्चालन प्रहरी निरिक्षक हरिकृष्ण केसीले गर्नुभएको थियो । 

,
Lokpriyasamachar@. Powered by Blogger.