चिनियाँ पत्रकारको टोलीको स्वागत

महेन्द्रराज सिंह/प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा बिहीबार आयोजित कार्यक्रममा चिनियाँ पत्रकारको टोलीको स्वागत गरिएको छ ।
अनौपचारिकरुपमा आयोजित कार्यक्रममा प्रेस काउन्सिल सदस्य संगीता खड्काले स्वागत मन्तव्य राख्नुहुँदै दुईदेशबीचको परापूर्वकालदेखिको प्रगाढ सम्वन्धलाई जीवन्त बनाउन आपसी भेटघाट तथा भ्रमणबाट भाषा, साहित्य, शिक्षा, संस्कृतिको प्रवद्र्धन हुने धारणा राख्नुभयो । त्यस्तै सदस्य शुभेच्छाविन्दु तुलाधरले चिनियाँ पत्रकार टोलीको स्वागत गर्न पाउनु गर्वको विषय उल्लेख गर्दै त्यहाँका नागरिकसंगकै साक्षात्कार भएको बताउनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले नेपाल चीन सम्वन्ध लामो रहेको र गौतम बुद्ध, सगरमाथाले दुईदेशलाई जोडेको प्रसंग उल्लेख गर्दै कृषि, प्रविधि र पत्रकारिता दुई देशका साझा मुद्धा भएकाले यिनै विषयमा सिकाई आदान प्रदान, आपसी भ्रमणले सम्वन्ध प्रगाढ हुने भन्दै नेपाल बसाइँ सुखद बनाउन आफूहरु प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभयो । आजै नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट र चिनियाँ पत्रकार संघका कार्यकारी सचिवले दुईपक्षीय साझेदारी हितका सम्वन्धमा एमओयुमा हस्ताक्षर गर्नुभएको छ ।
चिनियाँ पत्रकार संघका कार्यकारी सचिव तथा भ्रमणदलका नेता पाङ् ग्याङ्ले न्यानो आतिथ्यता र स्वागतका लागि धन्यवाद व्यक्त गर्नुहुँदै सुन्दर, विविधतायुक्त नेपालको रमणीय स्थल र यहाँका जनताको विषयमा प्रचार प्रसार गर्ने योजना रहेको बताउनुभयो । चीनमा लाइसेन्स प्राप्त २ लाख २० हजारसहित करिव १० लाख पत्रकारितामा आवद्ध रहेको र निकै कमले मात्र नेपाल भ्रमण गरेको बताउदै ग्याङ्ले आगामि दिनमा यसतर्फ ध्यान दिने धारणा राख्नुभयो ।
प्रेस काउन्सिल सदस्य शुभेच्छाविन्दु तुलाधर र संगीता खड्काले पाहुना टोलिलाई प्रेस काउन्सिल नेपालका अंग्रेजी प्रकाशनहरु मिडिया एण्ड इथिक्स, आचारसंहिता, मिडिया इथिक्स प्रदान गर्नुको साथै खादा लगाई स्वागत गर्नुभयो भने सो अवसरमा काष्ठकला गैंडा उपहार प्रदान गर्नुभयो । पाहुनालाई बेइजिङ् डगमा लन्च व्यवस्था गरिएको थियो । काउन्सिलका उप प्रशासकीय अधिकृत रामशरण बोहराले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.