गौराती मेलामा हजारौं भक्तजन, गौराती भिमसेनको शक्तिले हामी यो स्थितिमा– प्रमुख तामाङ

गौराती भिमसेनको आशिर्वाद पुर्णरुपमा लाग्ने र गौराती भिमसेनको शक्तिले नै हामीले अहिलेको स्थितिमा आइपुगेको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभएको छ ।
आफूले १२ वर्ष जनयुद्ध लड्दा पनि यहिँको भीमसेनलाई सधैं विहान दिउँसो  सम्झेर मैले बरदान मागेको हुँदा म हरेक घटनाबाट बच्न सफल भएको छु भन्ने विश्वास गरेको उहाँले बताउनुभयो ।
नगरपालिकाको प्रमुखको निर्वाचनमा पनि मैले भिमसेनसँग बरदान मागेको र उहाँकै कृपाले सजिलैसँग निर्वाचन जितेको मैले महशुस गरेको छु भन्नु हुँदै अब गौराती भिमसेनको मन्दिरलाई विश्वसामु चिनाउन पहल गर्ने र यसलाई पर्यटन स्थल बनाउन पहल गरिरहेको बताउनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाले पर्यटन विकासका लागि बनाएको योजनामा गौराती भिमसेनको मन्दिर प्राथिमकतामा राखेर गौरातीको विकास गर्न लागेको बताउँदै आगामी वर्ष चौतारादेखि गौरातीसम्मको सडक बिस्तार गरिने बताउँनुभयो ।

गौराती विकास समाज गौराती युवामञ्चले आयोजना गरेको सांस्कृतीक कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उँहाले त्यस्तो बताउँनुभएको हो । गौराती युवामञ्चको अध्यक्ष वाङ्गेल लामाको सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्षहरु नरमान श्रेष्ठ,  सुशील माझी, तोकबहादुर तामाङ, नगरका सल्लाहकार चन्द्रप्रसाद सापकोटा, नगरसुधार समितिका अध्यक्ष नेत्रबहादुर बस्नेत लगाएतको विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
गत वर्षभन्दा झण्डै तेव्वर मानिसहरुको उपस्थित रहेको मेलामा काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, लमजुङग,  चितवन लगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आएका थिए ।  गौराती युवामञ्चका सचिव सञ्जीव तामाङले  सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न सहयागीहरुलाई सम्मान समेत गरिएको थियो ।
मेलामा चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले निःशुल्क शिविर सञ्चालन गरेको थियो ।
चौतारा अस्पतालका डाक्टरसहित नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीहरु खटिएका थिए भने महाराजगञ्ज नर्सिङ क्याम्पसबाट सिन्धुपाल्चोकमा चेतनामूलक कार्यक्रम लिएर आएका स्टाफ नर्सका विद्यार्थीहरु र शिक्षकहरुले समेत शिविरमा सहयोगी भूमिका निर्वाह गरेका थिए भने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरिकृष्ण केसीको नेतृत्वमा सुरक्षाकर्मीहरु परिचालन भएको थियो । गत वर्षभन्दा पनि यस वर्ष सुरक्षाकर्मीहरु बढी चनाखो देखिएका थिए । 

,
Lokpriyasamachar@. Powered by Blogger.