हिंसा विरुद्धको दिवसका अवसरमा “अन्वेषी” लोकार्पण

महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” लोकार्पण २५ नोभेम्बर २०१८ महिला हिंसा विरुद्धको दिवसका अवसरमा गरेको छ ।
महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” २०७५ को लोकापर्ण राष्ट्रिय मानव अधिकार आयोगका माननिय अध्यक्ष अनुपराज शर्मा, नेपाल प्रहरीका एआइजी ठूले राई, संस्थाका कार्यकारी सदस्य दुर्गा कार्कीले गर्नुभएको थियो । कार्यक्रमको उद्देश्यहरुमाथि प्रकाश पार्दै ओरेक नेपालका कार्यक्रम निर्देशक अभिराम रायले उपस्थिती सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।
ओरेक नेपालले सन् २००८ देखि नै  देशभरबाट महिला माथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा विरुद्धको वर्ष पुस्तक“अन्वेषी”महिला हिंसा विरुद्धको दिवस २५ नोभेम्बर को दिन हरेक वर्ष प्रकाशन गर्दै आएको छ । महिला माथि हुने हिंसाको अवस्था र महिलाको न्यायमा पहुँचको अवस्थालाई विश्लेषण गरी तयार गरिएको वर्ष पुस्तकले समग्र रुपमा महिलाको मानवअधिकार हनन्को अवस्था र यसको सम्बोधनका लागि समुदाय स्तरदेखि नीतिगत स्तरसम्म आवश्यक कार्यहरु गर्नका लागि सरोकारवालाहरुलाई दिशा निर्देश गर्ने विश्वास संस्थाले लिएको छ । 
अन्वेषीको तयारीका लागि संयोजनको भुमिका निर्वाह गर्नुभएको ओरेक नेपालका महिला हिंसा विरुद्धको कार्यक्रम संयोजक संजिता तिम्सिनाले अन्वेषीको विश्लेषणात्म प्रतिवेदनको सांराशलाई प्रस्तुत गर्नुभएको थियो । पुस्तकमा ूजुलाई २०१७ देखि जुन २०१८ू सम्म ओरेक नेपालमा अभिलेखीकरण (सङ्कलन) गरिएका महिलामाथि भएका जम्मा १७४१ वटा हिंसाका घटनाहरूको विस्तृत विश्लेषण गरिएको छ ।  जसमध्ये सबैभन्दा बढी ६५ प्रतिशत ११४० महिलाहरूमाथि घरेलु हिंसा भएको छ ।
त्यस्तै गरी १७ प्रतिशत (२९५) महिलाहरू सामाजिक हिंसाबाट, ७ प्रतिशत (१३०) महिलाहरू बलात्कारबाट, २ प्रतिशत (३७) महिलाहरू बलात्कारको प्रयासबाट, ४ प्रतिशत (७२) महिलाहरू यौनिक हिंसाबाट प्रताडित भएका छन् । १ प्रतिशत (१३) महिलाहरूको हत्या, १ प्रतिशत (६) महिलाहरूको हत्याको प्रयास, (११) महिलाको बेचबिखन गरिएको र १९ महिलाहरुको बेचविखनको प्रयास भएको पाइएको छ भने, महिला हिसांकै कारण १० जनाले आत्महत्या गरेको घटनाहरु अभिलेखिकरण भएका छन् । महिलामाथि सबैभन्दा बढी आफ्नै श्रीमान्बाट ५३ प्रतिशत (९२९) र घरपरिवारका सदस्यबाट १७ प्रतिशत (२९८) हिंसा भएको पाईन्छ । यस तथ्याङ्कलाई विश्लेषण गर्दा सबैभन्दा बढी महिलाहरू आफ्नै घरमा असुरक्षित छन् । महिलाहरू आफ्ना भनिएका व्यक्तिहरूबाटनै बढी मात्रामा हिंसामा पर्ने गरेका छन् र नजिकका आफन्तहरूबाटै नै महिलाहरू असुरक्षित छन् भन्ने प्रमाणित गर्न यस तथ्याङ्कले  सहयोग गरेको छ ।  महिलामाथि हुने हिंसा विशेषत घरेलु हिंसालाई निजी र नितान्त घरभित्रको मामिलाका रूपमा मात्र लिइएको छ, हालसम्म पनि गम्भीर सवालका रूपमा घरेलु हिंसा स्थापित हुन सकेको छैन ।
पित्तृसत्तात्मक मूल्य–मान्यताबाट निर्देशित हाम्रा सामाजिक तथा सांस्कृतिक नीति–नियमले महिलाकको  शरीरमाथि अरूको नियन्त्रण कायम गर्ने सिद्धान्तको प्रतिपादन गरेको छ । जसका कारण महिलामाथि हुने हिंसाले निरन्तरता पाउँदै आएको छ । घरेलु हिंसाबाट प्रभावित महिलाहरूको विवाह गर्दाको समयको उमेर हेर्ने हो भने ३५ प्रतिशत (३९९) ले १६ वर्ष भन्दा कम उमेरमा र ५९ प्रतिशत (६७५) ले १७ देखि २५ उमेरसम्ममा विवाह गरेको पाईयो । यो तथ्यले बालविवाह र छिटो समयमा हुने विवाह घरेलु हिसाको प्रमुख कारक तत्वका रुपमा रहेको देखाएको छ ।
अनलाईनमा हुने लैगिंकतामा आधारित हिंसाका बारेमा लुमका तर्फबाट गिता थापाले प्रस्तुती गर्नुभएको थियो । महिला भएकै कारणले लिङ्गका आधारमा हुने हिंसा सार्वजनिक तथा निजी सबै स्थानमा  हुँदै  आएको  छ  । प्रविधिको विकाससँगै  बिगत केही दशक यता लैिङ्गकतामा आधारित  इन्टरनेटमार्फत  हुने हिंसा नेपालमा निकै बढेको बताउनुभएको थियो ।   यो समस्यालाई पहिचान  गरी गम्भीरतापूर्वक लिनुपर्ने  अवस्था आईसकेको थापाले बताउनु भएको थियो । कार्यक्रममा बोल्दै मानव अधिकार आयोगका माननिय अध्यक्ष श्री अनुपराज शर्माले महिला हिंसा मुक्त गर्नका लागि हालको समय सुनौलो अवसर प्रदान गरेको बताउनुभएको थियो । स्थानीय निर्वाचनको निर्वाचनसँगै स्थानीय स्तरमा नै जनप्रतिनीधि र त्यसमा पनि महिला जनप्रतिनीधिको संख्या उल्लेख्य  रहेको र जनप्रतिनीधिीले समुदायस्तरदेखि महिलाको मानव अधिकार सुनिश्चितताका लागि कार्य गरेमा देश हिंसा मुक्त हुने बताउनुभएको थियो । महिलाको न्यायमा पहुँच सुनिश्चितताका लागि राष्ट्रिय मानव अधिकार आयोग, प्रहरी र ओरेकजस्तो संघसंस्थाको संयुक्त सञ्जाल बनाएर हिंसाका घटनाहरको अनुगमन र न्यायका लागि कार्य गर्नका लागि सुझाव दिनु भएको थियो ।
नेपाल प्रहरीका एआईजि ठुले राईले हिंसाको रोकथाम र प्रभावितको न्यायका लागि प्रहरीको भुमिका अग्रणी हुनेप्रति आफु सचेत भएको र महिला हिंसा अन्त्यका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
यसैगरी, संस्थाका वरिष्ठ कार्यक्रम संयोजक सबिता पोखरेलले महिला हिंसाको वर्तमान अवस्थालाई उजागर गर्नुभयो । उहाँले कञ्चरपुरको निर्मला हत्याकण्ड र गोदाचौरको सामूहिक घटनाले कानून कार्यान्वयन तह फितलो भएको बताउदै स्थानीय तहले लैगिक सामानता कायम गर्न संरचनात्मक रुपान्तरणमा नेतृवदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।
सहभागीहरुलाई धन्यवाद सहित कार्यक्रमको समापन संस्थाका कार्यकारी सदस्य दुर्गा कार्कीले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम अधिकृत गार्डीका बज्रचार्यले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी, पत्रकार तथा मानव अधिकारको सवालमा क्रियाशिल महिला मानव अधिकार रक्षकहरु÷अधिकारकर्मीलगायत ८० भन्दा बढीको सहभागीता रहेको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.