सम्झौता, कार्यविधि कार्यान्वयन गर्न माग

दुई वर्षअघि दलीय संयन्त्रसँग गरिएको सम्झौता र कार्यविधि तत्काल कार्यान्वयन गर्न प्रभावित क्षेत्रका जनप्रतिनिधिले मध्यभोटेकोसी जलविद्युत् आयोजना समक्ष माग राखेका छन् ।
दलीय संयन्त्रले आयोजनासँग सहकार्य गरेर प्रभावित क्षेत्रको माग सम्बोधन गर्न विभिन्न कार्यविधि बनाएका थिए । तर, हालसम्म कार्यान्वयन भएको छैन । पुरानो कार्यविधिलाई बेवास्ता गरेर आफूखुसी काम गर्न थालेकाले आयोजनाप्रति स्थानीय सरकार असन्तुष्ट बनेको हो ।
बाह्रबिसे नगरपालिका मेयर निम्फुन्जो शेर्पा र भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले पुरानो कार्यविधि र सम्झौताअनुसार तत्काल कार्यान्वयमा जान आयोजनालाई अनुरोध गरेका छन् । स्थानीय तह गठनअघि दलीय संयन्त्रसँग आयोजनाले प्रभावित प्रत्येक वडालाई वार्षिक ३० लाखका दरले रकम सहयोग गर्ने सम्झौता गरेको थियो ।
त्यसैगरी, आयोजनाका कारण फाँडिएको वन क्षेत्रमा वृक्षरोपण गर्ने, बाँधस्थलबाट हटाइएका स्वास्थ्यचौकी, विद्यालय, युवा क्लब र कृषि भवन निर्माण गर्नेलगायत सम्झौता भएको थियो ।
तर, आयोजनाले सम्झौता कार्यान्वयन नगरेको जनप्रतिनिधिहरुको भनाई छ । विगतमा दलीय संयन्त्रसँग भएको सम्झौता तत्काल कार्यान्वयन नगरे काम बन्द गर्ने तयारीमा स्थानीय रहेको अध्यक्ष पौडेलको भनाई छ । 
आइपिओ अनुमतिसँगै तीव्र बनेको आयोजनाको काम चिनियाँ कम्पनीलाई भुक्तानी नदिएपछि पुनः प्रभावित भएको छरु। सिभिल तथा हाइड्रोमेकानिकल निर्माण कार्यको ठेक्का लिएको चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोको ४२ करोड भुक्तानी आयोजनाको आन्तरिक किचलोले रोकिँदा काम प्रभावित बनेको हो ।

,