थापाको कारण एकता भाँडिएको रानाको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएको आरोप लगाउनुभएको छ ।

अध्यक्ष राणाले पार्टी एकता प्रक्रियालाई अघि बढाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘तातै खाउँ, जलै मरौं’ भन्ने खालको हतारो गरेपछि पार्टी एकता प्रक्रिया तत्कालका लागि रोकिएको दावी समेत गर्नुभयो । अध्यक्ष राणाले तीन पार्टीबीच एकता हुने भनेपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह एउटै पार्टीको भने हुनै नसक्ने अडान समेत राख्नुभयो । पार्टीको एकता प्रक्रिया रोकिनुमा सिद्धान्तको विषय कारक तत्वको रुपमा नरहेको अध्यक्ष राणाको भनाई छ ।
अध्यक्ष राणाले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग एक पटक गम्भिर छलफल गरेपछि पार्टी एकता गरौैं भन्ने प्रस्ताव थापाले नमानेको आरोप पनि लगाउनुभयो । आफू पार्टी एकताको पक्षमा रहेको र लागि पर्ने पनि अध्यक्ष राणाको प्रतिवद्धता छ । अध्यक्ष राणाले तीन पार्टीबीच गणतन्त्र मान्ने कि नमान्ने भन्ने विषयमा फर्मूला तय भएको उल्लेख गर्दै तत्काल त्यसलाई सार्वजनिक भने नगर्ने पनि बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.