अवैध उत्खननले वस्ती जोखिममा

इन्द्रावती नदीमा भइरहेको अवैध उत्खननले चौतारा साँगाचोकगढी नगरपालिकाको बस्ती नै जोखिममा परेको छ ।
नदीबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननले ११ र १४ नम्बर वडाको भीमटार, कान्लेफेदी र कमेरेफाँटका ५० परिवार उच्च जोखिममा परेका हुन् ।  बढ्दो नदी दोहनले कान्लेफेदी र कमेरेफाँटको दुई सय रोपनी धानखेत इन्द्रावतीको भंगालोमा पर्ने खतरा बढेको स्थानीय बिमलराज गिरीले बताउनुभयो ।
इन्द्रावती नदी किनारको बन्देउदेखि झ्याँडीखोला सीमासम्म १२ वटा स्काभेटरले दिनहुँ नदीजन्य पदार्थ निकालिरहेका छन् । बस्ती नै जोखिममा पर्ने गरी ढुंगागिट्टीको निकासी हुँदा पनि स्थानीय जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् ।
केही ठेकेदारले स्थानीय तहबाट अनुमति लिएर नदी उत्खनन गरेका हुन् । तर, नदी क्षेत्रमा करिब एक दर्जनजति स्काभेटर र जेसिबीले विनाअनुमति नै नदी दोहन गरिरहेको पाइएको छ ।
अवैध उत्खननले स्थानीयका ५० घर र सय व्यक्तिको दुई सय रोपनीभन्दा धेरै खेत जोखिममा परेको छ ।  नदी किनारबाट एक सय मिटर पर बस्ती छ । नदीको दोहनले बस्ती जोखिममा परेपछि स्थानीयले उत्खनन रोक्न माग गरेका छन् ।
यसैबिच स्थिति तनावग्रस्त भएपछि स्थानीयले प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाललाई निवेदन दिएर नदी उत्खनन रोक्नसमेत माग गरेका छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.