विपन्न लक्षित कार्यक्रम मेलम्चीमा


दिपिन ढुङ्गाना, मेलम्ची
मेलम्ची नगरपालिका वडा नं ५ र ६ साविक सिन्धुकोट र तालामाराङ गाविसमा अति विपन्न लक्षित कार्यक्रम सञ्चालन हुने भएको छ । द साल्भेसन आर्मीको अनुदानमा द साल्भेसन मिसनले सञ्चालन गर्ने सो कार्यक्रम चाइल्ड नेपालले सहजीकरण गर्ने भएको छ । ग्रामीण सहभागिता र आत्मनिर्भरताका लागि सहजीकरण नामक सो कार्यक्रम हिजो मेलम्चीमा उद्घाटन भएको छ । द साल्भेसन मिसन आर्मीका इन्डिया इस्टर्न टेरोटरी लिडर कमिस्नर लाल् जाम् लोभा र मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि लाल् जाम् लोभाले द साल्भेसन आर्मी १ सय ३२ राष्ट्रमा फैलिएको र आवश्यक परेकाका लागि सहयोग गर्ने संस्था भएको बताउनुभयो । उपप्रमुख भगवती नेपालले संस्थाले गर्ने उत्पादनशील काममा नगरपालिकाले सघाउने बताउनुभयो । उहाँले संस्थालाई आर्थिक सहितको संस्थाको विस्तृत कार्य विवरण पुस १० सम्म नगरपालिकामा पेस गर्न आग्रह गर्नुभयो ।
भूकम्प प्रभावित अति विपन्नहरुको जीवनस्तर उकास्नका लागि सञ्चालन गरिने सो कार्यक्रम सफल बनाउन आफूले सकेको सहयोग गर्ने सम्बन्धित वडाका अध्यक्ष सुदर्शन लुइँटेल र जीतराज थापाले प्रतिबद्धता जनाउनुभयो । सहयोगी संस्था चाइल्ड नेपालका सचिव रत्न उप्रेतीले स्थानीय तहसँगको समन्वयमा छिटै कार्यक्रम सुरु गरिने बताउनुभयो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले कार्यक्रम सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
ग्रामीण सहभागिता र आत्मनिर्भरताका लागि सहजीकरण कार्यक्रम फेब्रुअरी २०२१ सम्म सञ्चालन गरिने आयोजक संस्थाका सहायक योजना व्यवस्थापक प्रकाशविक्रम भाटले जानकारी दिनुभयो ।


,
Lokpriyasamachar@. Powered by Blogger.