जलवायु सम्मेलनको उद्घाटन, पाठ्यक्रममा जलवायु परिवर्तन विषय समावेश हुुनुपर्नेः राष्ट्रपति भण्डारी

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन भइरहेको छ । जिल्ला समन्वय समिति महासंघको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा भइरहेको राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन हिजो राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भएको छ ।
राष्ट्रपति भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले जलवायु परिवर्तनबाट सिर्जित समस्याको बारेमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रष्ट बोलिसकेको भन्दै प्राकृतिक सम्पदा उपयोग गर्दा प्रकृति र संस्कृति जोगाउनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनको उद्घाटन सत्रमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं–३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योगमन्त्री अरुण नेपाल, पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ शुरु भएको सम्मेलन आजसम्म चल्नेछ । सम्मेलनमा देशका ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाका दरले सहभागी रहेका छन् ।
सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र र हुने छलफलबाट सिन्धुपाल्चोक घोषणापत्र जारी गरी जलवायु अनुकूलन योजना निर्माणबारे सन्देश दिने र यसबारे सबैलाई सचेत गर्ने सम्मेलनको मूलध्येय रहेको छ । जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइनेछ ।

,
Lokpriyasamachar@. Powered by Blogger.