मेलम्ची खानेपानीका कर्मचारी पक्राउ

देवराज सुवेदी/नेपालको बहु चर्चीत  मेलम्ची खानेपानी आयोजनामा काम गर्ने कर्मचारीहरुलमाइ प्रहरीले पक्राउ गरेको छ । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसी टाट पल्टिन लागेपछि यसका आठ कर्मचारीलाई प्रहरीले पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाएको छ ।
मेलम्ची आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित आठ जनालाई हिजो राति प्रहरीले ठमेलबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त दरबारमार्ग संयुक्त टोलीले राति साढे १० बजे ठमेलस्थित रोयल पेङ्गुइन होटलबाट उँहाहरूलाई पक्राउ गरेको हो  । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार कतार एयरमार्फत साढे ११ बजेको टिकट गरी उनीहरू सरकारलाई जानकारी नदिकन भाग्न खोजेका थिए । क्रिसमस मनाउन जाने बहानामा उनीहरू मेलम्ची खानेपानी अलपत्र पारेर आफ्नो देश फर्किन खोजेको प्रहरीले जनाएको छ ।
दरबारमार्ग बृत्तका डिएसपी दानबहादुर मल्लका अनुसार उनीहरूको गतिविधि शंकास्पद थियो । उनीहरूले ठमेलकै काठमाडौं होटल बुक गरी अर्को होटलमा बसेका थिए । मल्लले सिएमसीका कर्मचारीलाई पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाइएको बताउनुभयो । उहाँहरूको पासपोर्ट समेत जफत गरिएको छ ।
सोधपुछका क्रममा प्रोजेक्ट म्यानेजर ग्रेचोले कम्पनी डुबेपछि देश फर्किन खोजेको बताएको मल्लले जानकारी दिनुभयो । ग्रेचोले दुई दिनदेखि काम छोडेर काठमाडौं आएको बताएका थिए ।
करिब एक वर्षअघि सो कम्पनीले ५० करोड युरो बराबरको बोण्ड जारी गरेको थियो । अघिल्लो महिना मात्र सो कम्पनीले ती बोण्डबापतको पैसा तिर्न नसक्ने जनाएको थियो । एक महिनाअघिनै इटालियन सञ्चार माध्यमहरूले ३० दिनभित्र आफ्नो नगद प्रवाहको समस्या सुल्झाउन नसके कम्पनी टाँट पल्टिनसक्ने जनाएका थिए ।
मेलम्ची खानेपानी आयोजना सन् २००१ बाटै सुरू भएको हो । सन् २००८ सम्ममा सुरूङ निर्माण क्षेत्रमा बाटो पुर्याइएको थियो । सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको थियो।  चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.