गैसस महासंघमा जिल्लाका दुई निर्वाचित

गैरसरकारीसंस्था महासंघ नेपालको केन्द्रीय समितिमा सिन्धुपाल्चोकबाट दुईजना निर्वाचित भएका छन् ।गत आईतबार सम्पन्न महाधिवेशनबाट सिन्धुपाल्चोकमा कार्यरत संस्था जनहित ग्रामिण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्मा खुल्ला केन्द्रीय सदस्य तर्फ निर्वाचित हुनुभएको हो ।
कुल खसेको मत मध्य ४ सय ६० मत प्राप्त गरि निर्वाचित उहाँ पपुलर मत प्राप्त गर्ने शीर्ष पाँचमा पर्नुभएको छ । केन्द्रीय सदस्य निर्वाचित शर्मा यसअघि सिन्धुपाल्चोकमा सम्पन्न गैसस महासंघको अधिवेशनबाट सचिवमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
सिन्धुपाल्चोककै ग्रामिण महिला सृजनशिल परिवारकी कार्यकारी निर्देशक नानीमैयाँ थापा प्रदेश नं ३ को तर्फबाट केन्द्रीय समितिको महिला कोटामा निर्विरोध हुनुभएको छ । यसअघि सिन्धुपाल्चोकबाट गैसस महासंघले केन्द्रीय महाधिवेशनको लागि प्रतिनिधि चयन गरि पठाएको थियो ।
गैसस महासंघका सिन्धुपाल्चोकले पाएको यो ठूलो सफलता हो । गैसस महासंघ सिन्धुपाल्चोकका पुर्व अध्यक्ष सोम सापकोटाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्नुभएको थियो ।सापकोटाका अनुसार सिन्धुपाल्चोकका गौरी प्रधान दोस्रो अधिवोशनबाट केन्द्रीय अध्यक्ष बन्नुभएको थियो भने तेस्रो अधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा भगवती नेपाल निर्वाचित हुनुभएको थियो । यसपटक शर्मा र थापा केन्द्रीय समितिमा पर्नुभएको हो । निर्वाचित केन्द्रीय सदस्यहरुले विभिन्न विभागमा रहेर काम गर्ने अबसर पाउने छन् ।
देशैभरका गैरसरकारी संस्थाहरुको छाता संगठन एवं नागरिक संगठनहरुको अगुवाई गर्ने गैसस महासंघले सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैसस, नागरिक समाज र सरोकारवालाहरुसंग समन्वयकारी भूमिका खेल्ने गर्छ । गैसस महासंघको नवौ महाधिवेशन पछि सम्पन्न बैठकले जिताराम लामाको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.