राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन राष्ट्रपतिबाट हुने

सागर खड्का/जिल्ला समन्वय समिति महासंघको आयोजनामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित गुफाडांडामा पुष १६ र १७ गते हुने राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन रास्ट्रपति बिद्यादेबी भण्डारीले गर्नुहुने भएको छ । 
यसअघि प्रधानमन्त्री केपि शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने भनिएतापनि उहाँको स्वास्थ्य अवस्थाको कारण रास्ट्रपतिबाट उद्घाटन कार्यक्रम तय भएकोे पुर्व कानुन मन्त्री तथा सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र न. २ का सांसद शेर बहादुर तामाङले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोककोे व्यवस्थापनमा सम्मेलन हुने स्थान गुफाडाँडामा जाने मोटरबाटोे, धारा पानीको व्यवस्थापनका साथै चउर सम्याउने काम सकिएको छ । दुई हजार पाँच सय मिटरको उचाइमा रहेको गुफाडाँडामा जलवायु सम्मेलन हुने भएपछि आन्तरिक पर्यटकको आगमन समेत बढ्न थालेको छ । सतहत्तर वटै जिल्लाका प्रतिनिधि सहभागी हुने सम्मेलनमा जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख सहित प्रत्येक जिल्लाबाट तीनजनाको सहभागिता रहने बताइएको छ । सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका योजना निर्माणका साथै, स्थानीय तहको योजनामा मूल प्रवाहीकरण गर्न सहयोग गर्ने, जलवायु परिवर्तनका कारणले कृषि, जलस्रोत, वन तथा जैविक विविधतामा पारेको असरका बारेमा छलफल हुनेछ । देशलाई जलवायुमैत्री, जलवायु परिवर्तनसँगै अनुकूलित योजना निर्माण र परिवर्तन न्यूनीकरणका गतिविधि सञ्चालन गर्नका लागि नीति निर्माण एवं परिमार्जन र कार्यान्वयनमा सरोकारवालालाई निर्देशित गर्ने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।
सम्मेलनबाट जलवायु परिवर्तनको विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गरिनेछ । तामाङका अनुसार सम्मेलनमा छ जना विज्ञबाट जलवायु परिवर्तनले सिन्धुपाल्चोकको आर्थिक, सामाजिक, पर्यटकीय, कृषि, पानीको स्रोत, वातावरणीय रुपमा कस्तो असर पारेको छ ? भन्ने विषयमा पनि अनुसन्धनात्मक कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनले जलवायु परिवर्तनबाट हुने प्रभाव न्यूनीकरण गर्न साझा घोषणापत्र जारी गर्ने बताइएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.