गाउँपालिकाले गरे पुनर्निर्माण बैठक वहिष्कार

देवराज सुवेदी/सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनाका विषयमाथि शनिबार छलफल भएकामा तीन गाउँपालिकाले बैठक वहिष्कार गरेका छन् ।
पुननिर्माणकार्यलाई प्रभावकारी ढङ्गले सफल बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र जिल्लाका १२ मध्ये ९ वटा नगर तथा गाउँपालिकाकाबीच १५ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । इन्द्रावती र हेलम्बु गाउँपालिकाका प्रमुख बैठकमा उपस्थित भएनन् । बैठकमा सहभागी भएका पाँचपोखरी थाङ्पाल गाउपालिकाका अध्यक्ष टासी लामाले पनि  बैठकले निर्णय गरेका बुँदामा आपत्ति जनाउँदै हस्ताक्षर गर्नुभएन ।
पूर्व कबोलअनुसार गुम्बा निर्माणमा रकम नआउने भएपछि अध्यक्ष टासी लामाले हस्ताक्षर नगरेको बताउनुभयो । गुनासो फस्र्यौट नहुँदा पनि अप्ठ्यारो परेको लामाले जनाउनुभएको छ । तिपेनी–भोटेनाम्लाङ र तिपेनी–लाँगर्चे सडक कालोपत्रे गरिने भने पनि अनेक बहाना देखाइ काम नहुने भएपछि उहाँले सहमति पत्रमा हस्ताक्षर नगरेको पनि उहाँले बताउनुभयो ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले एक करोडभन्दा बढी रकम गुम्बा निर्माणमा दिने भनिए पनि अहिले त्यसको आधा रकम पनि नआउने भएपछि बैठकप्रति असहमति जनाउनुभएको हो । हेलम्बुमा दर्जनौँ गुम्बाहरु निर्माण गर्नुपर्ने रहेको पनि उहाँले जनाउनुभयो ।
निर्णय भएका बुँदामा प्राधिकरणले आवश्यकता अनुसार पालिकामा इन्जिनियर, सबइन्जिनियर र डकर्मी खटाउने भएको छ । साथै खटाएका जनशक्तिलाई पुननिर्माणको काममा खटाउने हाजिरी राख्ने लगायतका प्रशासनिक जीम्मेवार पालिकालाई दिएको छ । बैठक प्रतिनिधि सभा २ का सांसद शेरबहादुर तामाङको अध्यक्षतामा प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवाराज दुलाल, सांसद सरेस नेपाल , स्थानिय तहका जनप्रतिनिधि र राष्टिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक चन्द्रबहादुर श्रेष्ठको उपस्तिथिमा भएको हो । शुक्रबार भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनाका बारे अभिमुखिकरण तथा समिक्षा गोष्टि गरेर शनिबार बैठक बसेको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा. चन्द्रबहादुर श्रेष्ठले गुनासोमा नाम भएका झुठोलाई हटाइ पीडितलाई न्याय दिन जनप्रतिनिधिले गर्न सक्ने भएकोले स्थानीय तहलाई जिम्मेवारी दिने निति बनेको बताउनु भयो ।  पालिकाले कार्ययोजना प्राधिकरणलाई बुझाउन आग्रह गर्दै त्यही अनुसार योजना बनाउने श्रेष्ठले बताउनु थियो ।  सिन्धुपाचोकमा भुकम्प पिडितको गुनोसो समस्या बढी भएको जनप्रतिनिधिहरुले बताएका छन् ।


,
Lokpriyasamachar@. Powered by Blogger.