मध्य भोटेकोसीले अझै बनाएन स्वास्थ्य चौकी

सिन्धुपाल्चोक जिल्ला स्थित बाह्रबिसे नगरपालिकाको जम्बुमा  १०२ मेगावाट मध्य भोटेकोसी जलविद्युत् आयोजनाले भोटेकोसी गाउँपालिका मार्मिङ चाकुस्थित स्वास्थ्य चौकी र विद्यालय अझै बनाएको छैन ।
भूकम्पपछि निर्मित अस्थायी स्वास्थ्य चौकी भवन भूकम्पको चार वर्ष भइसक्दा पनि जिम्मा लिएको आयोजनाले चाकु स्वास्थ्य चौकी र धनेश्वरी माविको भवन नबनाएको हो । ०७४ बैशाख १९ मा नै टेन्डर आहवान गरेर बनिसक्नुपर्ने चाकु स्वास्थ्य चौकी र धनेश्वरी माध्यमिक विद्यालयको भवन अहिले थोत्रो टहरामा चलिरहेको छ ।
भूकम्प, बाढी र दैनिक सुक्खा पहिरोको जोखिम भोगिरहेका स्थानीय स्वास्थ्य चौकी र विद्यालय नबन्दा आक्रोशित छन् ।
आयोजनाले स्वास्थ्य चौकी र विद्यालय अगाडिको पहरामा ‘ब्लास्टिङ’ गर्दा बालबालिका त्रसित हुने गरेका छन् । ‘उछिट्टिएर आएका चट्टानको टुक्राले टीएलसीको छाना प्वाल पर्न थालिसकेको विद्यालयको भनाई  रहेको छ ।
विद्यालय र स्वास्थ्य चौकीको अगाडि नै आयोजनाको शौचालय बनाइएको छ । जसको दुर्गन्धले वरिपरिको वातावरण प्रदूषित बनाइरहेको स्थानीय बताउँछन् । भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले विद्यालय र स्वास्थ्य चौकीबारे आयोजनाले काम नगरेकाले स्पष्टीकरण पत्र पठाइसकेको बताउनुभयो ।
भूकम्पपछि धमाधम भवन बनिरहँदा आफ्नो विद्यालय र स्वास्थ्य चौकी आयोजनाको भर परेर टहरामा थन्किएको स्थानीयको गुनासो छ । केही समयअघि बाह्रबिसे नगरका प्रमुख निफुन्जो शेर्पाको अगुवाइमा जनप्रतिनिधिले वाचा पूरा नगरेको भन्दै मध्य भोटेकोसी जलविद्युत् आयोजनामा ताला लगाएका थिए । बालबालिकासँगै स्थानीय सिद्धिबहादुर श्रेष्ठको नेतृत्वमा चाकुका बासिन्दाले दबाब दिएका हुन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.