डडुवाको वार्षिक साधारणसभा सम्पन्न

डडुवा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा एक भव्य समारोहका बीच सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ स्थित डडुवा भवानी शंकर माध्यमिक विद्यालयको प्राङ्गणमा वडा प्रमुख वडाध्यक्ष शेरबहादुर श्रेष्ठले एक वृहत समारोहका साथ उद्घाटन गर्नुभएको थियो ।

पानसमा वत्ती बालेर उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले डडुवा बचत तथा ऋण सहकारी संस्थाले गरेका कार्यहरुको खुलेर सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयो । सहकारीताको माध्यमबाट गरेका कार्य सफलता रहने हुँदा सहकारीले गर्ने हरेक कार्यहरुमा वडाले साझेदारी गर्न चाहेको बताउँदै स्थायित्व विकासको लागि साझेदारी गर्न आग्रह गर्नुभयो । सहकारी विकासका लागि नगरपालिकाले खेल्ने भूमिकामा कुनैपनि कमी हुन नदिने उहाँले बताउनुभयो ।


अब सहकारीले आयआर्जनमूलक काममा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै पशुपालन तथा उत्पादनमूलक कार्यमा जसरी भएपनि वडाले अनुदानको व्यवस्था गर्ने बताउनुभयो । सहकारीको विकास र कृषि तथा उत्पादनमूलक कार्यका लागि कुनैपनि हालतमा सहयोग गर्नुपर्ने बताउँदै गाउँलाई वातावरणीय सरसफाईमा अग्रसर रहन अनुरोध गर्नुभयो । वडामा रहेका सबै सहकारीलाई सहयोग गर्ने प्रतिवद्धता गर्दै सहयोगमा हातेमालो गर्न आग्रह गर्नुभयो । विषेश अतिथिको तर्फबाट बोल्दै सहकारी संस्थाका संस्थापक तथा काठमाडौं बचत तथा ऋण सहकारी संस्थाका सदस्य केशवराम नेपालले २०५५ सालदेखि सञ्चालन भई २०६५ मा कानुनी मान्यता पाएको यो संस्थाले सदस्यहरुको संख्यामा वृद्धि गरी सहकारीताको माध्यमबाट काम गर्न अगाडि बढ्नुपर्ने बताउँदै एकलाई परेको समस्यामा अर्कोले सहयोग गर्ने प्रवृत्तिलाई नै सहकारी भनिन्छ भन्नुभयो ।  यहाँ जात, धर्म, सानो, ठूलो, धनी, गरिव भनेर कसैलाई पनि भेदभाव गर्न पाइँदैन । त्यसैले सहकारीका सबै सदस्य समान हुन्छन् । सबैको अधिकार बराबर हुन्छ । सञ्चालक समितिमा रहने व्यक्ति पनि ठूलो होइन, सबै समान हुन्छ भन्नुभयो । उहाँले सहकारीहरु उत्पादनमूलक व्यवसायमा लाग्नुपर्ने बताउनुभयो ।
लोकप्रिय नेत्रज्योती सञ्चार समूहका कार्यकारी प्रमुख तथा नेत्रज्योती कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेतले डडुवा बचत तथा ऋण सहकारी संस्थाले डडुवाकै पहिचान बोकेको र यसले डडुवामा मात्र होइन चौतारा नगरपालिकामा नै बचत तथा ऋण सहकारी संस्था मध्ये नमूना बन्न सक्ने बताउँदै सहकारीताको माध्यमबाट गरेका कामहरु सफल भइरहेकोले स्थानीय सरकारले पनि सहकारी विकासका लागि सहयोग गरिरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष केशवप्रसाद नेपालले ‘डडुवा बचतको प्रतिष्ठा सहकारीतामा निरन्तरता’ भन्ने मूल नाराका साथ उपस्थित भएको यो सहकारीका लागि सबैको सहयोग र साथ रहेको हुँदा यो अवस्थामा आउन सफल रहेको बताउनुभयो । उहाँले रेडियो लोकप्रिय प्लानेट ८९.१ चौतारा र रेडियो लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज बाह्रबिसेबाट एकैसाथ सहकारीको विषयलाई समेटेर सहकारी गतिविधि सञ्चालन गर्ने योजना रहेको समेत बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष दामोदर सापकोटाले संस्थाको ३२५२४२९२.२८ को आयव्यय प्रस्तुत गर्नुभयो । सहकारी संस्थाको सचिव भेषबहादुर नेपालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कुल ३ सय ५३ जना शेयर सदस्य रहेको उक्त संस्थाले लेखापरिक्षण नियुक्ती गर्नुको साथै रिक्त कोषाध्यक्षको पदपूर्ति लगायत विभिन्न निर्णयहरु गरेको छ । कार्यक्रममा सहभागी अतिथिहरुले सहकारीताको माध्यमबाट काम गर्न सबैलाई एक भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जनहित दूग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष तथा डडुवा भवानीशंकर माविका प्रअ बद्रीप्रसाद नेपालले विद्यालयको तर्फबाट सहकारीको लागि गर्नुपर्ने सहयोगमा कुनै पनि कमी हुन नदिने बताउनुभयो । उहाँले डडुवामा रहेको सहकारी मध्य डडुवा बचत तथा ऋण सहकारी संस्थाले गरेको  प्रगतिको बारेमा खुसी व्यक्त गर्नुभयो ।
पूर्व गाविस उपाध्यक्ष तथा समाजसेवी बाबुराम शर्मा नेपालले सहकारी राजनीतिक दल जस्तो होइन, क्लव जस्तो होइन, सहकारी भनेको स्वतन्त्र सबैका साझा फूलवारीको रुपमा लिनुपर्ने बताउँदै समय परिवर्तनसँगै मानिस पनि परिवर्तन हुनुपर्ने र अबका दिनमा डडुवालाई मादकपदार्थ निषेधित वडा बनाउन लागि पर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका अर्का अतिथि ३ नम्बर प्रदेश सहकारी समितिका सदस्य रामप्रसाद नेपालले राजनीति बिचार तथा अन्य बिचारमा छिन्नभिन्न भएको भएतापनि सहकारीले एक भएर अगाडि बढ्नुपर्ने प्रेरणा गराउने काम गरेको बताउँदै सहकरीताको माध्यमबाट गरेको कामले मानिसमा परिवर्तन गर्न सहज भएको छ । जसले बचतको कला सिकेको हुन्छ त्यो मानिसमात्र समृद्ध जीवनमा रहन्छ त्यसैले बचत गर्ने वानी बसाल्नुपर्छ  भन्नुभयो । उहाँले सहकारीको नेतृत्वकर्ताले आफ्ना शेयर सदस्य र सहकारीको शेयर नबनेका मानिस बीच भएको भिन्नताको लागि प्रष्ट्याउनुपर्ने बताउनुभयो । उहाँले सहकारीका सदस्यको जीवनस्तर उन्नती भएमात्र सहकारीको महत्व हुने हुँदा यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।   
कार्यक्रम डडुवा भवानीशंकर माध्यमिक विद्यालयको प्राङ्गण डडुवामा सहकारी संस्थाका अध्यक्ष केशवप्रसाद नेपालको अध्यक्षतामा भएको थियो । 

, , , , , , , ,