बम्जनको आश्रममा पुनः अनुसन्धान

अनुयायी हत्या गरी गाडिएको आशंकामा रामबहादुर बम्जनको बाँडेगाउँ आश्रममा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरी पुनः अनुसन्धान थालेको छ । काठमाडौंबाट आएको प्रहरीको विशेष टोलीले दुई दिनदेखि आश्रममा कुकुर परिचालन गरी अनुसन्धान गरिरहेको छ । आश्रममा ६ वटा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ ।

बम्जनका अनुयायी मकवानपुर हेटौँडाका सञ्चलाल तामाङको हत्या गरी बाँडेगाउँ आश्रमभित्रै शव गाडेर दबाइएको आशंका गरिँदै आएको छ । उनका छोरा महेन्द्रले बाबुलाई आश्रमभित्रै बेपत्ता बनाइएको भन्दै सिन्धुपाल्चोक प्रहरीमा बिहीबार जाहेरी दिएका थिए । त्यसै दिन जाहेरी दर्ता गरेर अनुसन्धान थालेको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को सहयोगमा शुक्रबार र शनिबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो ।
महेन्द्रले जाहेरीमा बाबुको हत्यापछि आश्रम भित्रै खाडल खनी चाँडै कुहाउन २० पोका नुन छर्केर गाडेको जाहेरीमा उल्लेख गरेका छन् ।
महेन्द्रको जाहेरी र सार्वजनिक भएका सूचनाका आधारमा शंकास्पद जमिन उत्खनन् गर्दा खुकुलो माटोले भरिएको पाँच फिट गहिरो खाडल सिआइबी टोलीले फेला पारेको थियो ।
त्यहाँ नौ वटा नुनका खाली पोका भेटिएका थिए । प्रमाण नष्ट गर्न शव पहिलेको खाडलबाट अन्यत्रै सारिएको वा जलाइएको हुन सक्ने अनुमान गर्दै तालिम प्राप्त कुकुरको सहायता लिइएको  बताइएको छ । कुकुरसहित झण्डै २० जनाको प्रहरी टोली बाँडेगाउँ आश्रममा परिचालित  रहेको थाहा भएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.