सुन साट्ने वहनामा १० लाख लुट

बलेफी गाउँपालिकाको ७४ किलो नजिक जङ्गलमा अज्ञात समूहले सुन साट्ने बहानामा एक युवाको १० लाख लुटेका छन् । मङ्गलवार दिउँसो बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले सुनसरीका निरोज घिमिरे र राजधानीका मेखराज खत्रीको सो रकम लुटेका हुन् ।
सस्तोमा सुन दिने सपना देखाएपछि उनीहरूलाई ७४ किलोको जङ्गलमा ‘साजन ’ नाम भएका व्यक्तिले बोलाएका थिए । त्यही स्थानमा कुटपिट गरी रकम लुटेर लगेको प्रहरीले जनाएको छ । ‘रड प्रहार गरेपछि १० लाख लुटेको तथा सोही अनजान लुटेरालाई खोजिरहेका   इलाका प्रहरी कार्यालय जलविरेका प्रहरी निरीक्षक गोपाल प्रसाद ढकालले बताउनुभयो । केही दिन यता सुनसरीका निरोज घिमिरे र काठमाडौँका मेखराज खत्रीको अज्ञात साजनसँग गफ भइरहेको थियो । आफूसँग एक किलो सुन भएको र २८ लाख दिएमा साट्ने प्रतिबद्धता सहित ‘साजन’ भेट्न तयार भए ।
७४ किलोमा भेट्ने योजनालाई मानेर उनीहरूले बलेफी गाउँपालिका ५ स्थित ७४ किलो जङ्गलमा पुगे । ‘साजन’ नामक अपरिचित व्यक्तिले फोनमै दुई जना मात्रै आउने सर्त राखेपछि एक जना साथी बलेफीमा छोडेर दुई जना मात्रै गएका हुन् ।
राजधानीबाट ‘साजन’भन्ने व्यक्ति एक किलो सुन लिएर आउने आसमा १० लाख लिएर एक घण्टा कुरिरहेका उनीहरूलाई पछाडिबाट रुमालले मुहार छोपेका तीन व्यक्तिले प्रहार गरे ।
अन्जान तीन व्यक्तिले घिमिरेको टाउको रड र खत्रीलाई निर्घात कुटेका हुन् । हालै १० लाख दिए एक किलो सुन पाउने सपना बुनेका उनीहरूलाई मुर्छा पर्ने गरी कुटेपछि १० लाखको झोला लिएर फरार भएका हुन् ।
यसैबीच सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिइ रु ४० लाख ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा काठमाडौँ टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा जनकपुर नगरपालिकाका मनिष ढुङ्गाना, काठमाडौँ काँडाघारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन् ।
यसैगरी, काठमाडौ बौद्ध बस्ने धनकुटाका शलिना शर्मा र सङ्गीता राई, काठमाडाँै बौद्ध बस्ने पर्साका सन्तोषकुमार लामा, काठमाडाँै तारकेश्वर नगरपालिका बस्ने रौतहटका समीर लामा, काभ्रेपलाञ्चोकका मनोज लामा, बाराका सुरेश राई र निजगढका सागर राईलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले आज जानकारी दिएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.