‘मेलम्चीको काममा कुनै समस्या छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दाबी गर्नुभएको छ । बिहीबार ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्षयता तीव्रता लिएको बताउँदै समयमै यसले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले २७ वर्ष चिप्ले कीराको गतिमा अघि बढेको मेलम्ची खानेपानी आयोजनाको काम एक वर्षयता जापानिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको उल्लेख गर्दै अहिले अलिकति गतिरोध आएपनि त्यसलाई समयमै पूर्णता दिन सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।
उहाँले मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै परिस्थितिमा पनि अघि बढाउन सरकार तयार रहेको स्पष्ट पार्नुभयो । इटालियन ठेकेदार कम्पनी सिएमसीले बजेट अभावको कारण देखाउँदै काम छोडेर गइरहेका बेला पनि प्रधानमन्त्री ओलीले आयोजनाको कामलाई पूर्णता दिन ढिलाई नहुने बताउनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले हरेक दिन एक पाइला अघि बढ्ने गरी सरकारले विकास निर्माणको कामलाई अघि बढाएको दाबी पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले बागमती नदीलाई नुहाउन मिल्ने गरी पुरानै अवस्थामा परिणत गर्ने प्रतिवद्धता पनि दोहोर्रुयाउनुभयो । उहाँले काठमाडौं उपत्यकामा स्वच्छ हावा, सफा र पिउन योग्य पानी बनाउने संकल्पप्रति सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । चाइनाको साफबोन वाटर सर्भिस होल्डिङले प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी लिएको छ ।
कुल ६० करोड ७५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रशोधन केन्द्र ३० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ। प्रधानमन्त्री ओलीले प्रशोधन केन्द्रको निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रममा खानेपानी मन्त्री विना मगरले आयोजनाको काम तोकिएको समयमै सम्पन्न गर्न सरकारले आवश्यक सबै खालको सहयोग निर्माण कम्पनीलाई उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ ।
खानेपानी मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनामा निर्देशनालय र मन्त्रालयले दुरदर्शिताका साथ काम गरिरहेको दावी गर्नुभएको छ ।
‘मेलम्चीको पानी काठमाडौंका जनतालाई उपलब्ध गराउन मन्त्रालय सम्पूर्णरुपले क्रियाशील रहेको छ’, उहाँले भन्नुभयो । कुनै पनि बाहना र गतिरोधले मेलम्ची आयोजना प्रभावित नहुने मन्त्री मगरको दावी छ ।
‘सम्भाव्य सम्पूर्ण उपायहरुको खोजी गरी राष्ट्रिय कार्यभार पूरा गर्न मन्त्रालय संकल्पित रहेको छ’, उहाँले भन्नुभयो । इटालियन ठेकदारले काम रोके पनि मन्त्री मगर भने पछिल्लो समय मेलम्ची सकारात्मक दिशा लिइरहेको बताउनुहुन्छ ।

,