महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन, पौष २०७५



          एकै महिनामा १०४ जना महिलामाथि हिंसा, ५१ प्रतिशत हिंसा घरभित्रै

महिलामाथि हुने हिंसा, तिनका आयाम र परिमाणहरू फरक–फरक रहेका छन । महिलामाथि हुने हिंसाका स्वरुपहरु मध्ये घरेलु हिंसा व्यापक रूपमा विद्यमान छ । प्रत्येक व्यक्तिको सुरक्षित र सम्मानजनक तवरले बाँच्न पाउने अधिकारको सम्मान गर्दै घर परिवारभित्र वा घर परिवारसँग गाँसिएर हुने हिंसाजन्य कार्यलाई दण्डनीय बनाई त्यस्ता कार्य नियन्त्रण गर्न तथा घरेलु हिंसाबाट प्रभावितलाई संरक्षण गरी न्याय प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले घरेलु हिंसा तथा कसुर सजायँ ऐन, २०६६ र नियमावली २०६७ समेत निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । तथापि देश भित्र स्थापित विभेद पूर्ण सामाजिक संरचनाहरुका कारण महिलाहरुलाई हेर्ने विभेदपुर्ण दृष्टिकोणमा “व्यक्तिगत देखि नीतिगत तहसम्म परिवर्तन” हुन सकेको छैन जसका कारण घरेलु हिंसा तथा महिलामाथि हुने हिंसाले निरन्तरता पाएको छ । यसरी महिलामाथि हुने हिंसाका विभिन्न स्वरुपहरुलाई विश्लेषण गरी ओरेकले मासिक रुपमा महिला हिंसाको तथ्याँक सार्वजनिक गर्दै आएको छ ।

पौष महिनामा महिलमाथि भएको हिंसाको अवस्था

ओरेकमा पौष महिनामा मात्रै जम्मा १०४ महिला हिंसाका तथ्याँकहरु संकलन गरिएको छ । जसमध्ये ३९ वटा घटनाहरु विभिन्न दैनिक राष्ट्रिय पत्रपत्रिकाहरुबाट संकलन गरिएको हो ।

     

पौष महिनामा सबैभन्दा बढी ५१% (५३ जना) महिलाहरु घरेलुहिंसाबाट प्रभावित भएको देखिएको छ, भने त्यसपछि १६% (१७ जना) महिला तथा किशोरीहरुमाथि बलात्कार भएको पाइएको छ । यसैगरी ११% (१२ जना) सामाजिक हिंसा, ७% हत्या, ६% यौन दूव्र्यवहार, २% बेचविखन, १–१% हत्या प्रयास र बलात्कारको प्रयास र ५% अन्य (बेपत्ता, एसिड आक्रमण, छाउपडी) हिंसाबाट प्रभावित भएको तथ्याँक संकलन भएका छन् । हिंसा प्रभावितमध्ये  ५८% सबैभन्दा बढी श्रीमानबाट, २३% छिमेकीबाट, ५–५% परिवारका सदस्य र साथिबाट, २–२% शिक्षक र आफुले आत्मीय ठानेका व्यक्तिहरुबाट र ५% कुनै पनि सम्बन्ध नभएका अपरिचित व्यक्तिहरुबाट महिलाहरुमाथि हिंसा भएको पाइएको छ ।
हिंसा प्रभावित महिलाहरुमध्ये १७ देखि २५ वर्ष उमेर समुहका ३८% महिलाहरु सबैभन्दा बढी जोखिममा रहेको पाइएको छ । यस्तैगरी, २६ देखि ३५ वर्ष उमेर समुहका २५% महिलाहरु, १६ बर्षभन्दा कम उमेरका १९%, २६ देखि ३५ बर्ष उमेर समूहका १३% र ४५ बर्षभन्दा माथिका ५% महिलाहरुमाथि हिंसा भएको पाइएको छ ।


निश्कर्ष
तथ्याँकको आधारमा विश्लेषण गर्दा महिला हिंसा सबैभन्दा बढी संख्यामा आफ्नो श्रीमान्, आफन्त, घरपरिवारका सदस्य र आफु बस्ने समाजबाट हुने, यस किसिमको हिंसाले महिलाहरु जहाँ छन् त्यहीँ नै असुरक्षित छन् भन्ने कुराको पुष्टी गर्दछ । अर्थात महिलाहरुको लागि सुरक्षित स्थान छैन । जहाँ हिंसा खेप्न नपरोस् । यो आफैमा चुनौतीपूर्ण विषय हो । त्यसकारण घरेलु हिंसा तथा महिलामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि व्यक्तिगत सोँच र व्यवहारमा परिवर्तन गर्नुपर्ने र यसका लागि स्थानीय तहदेखि नै  हरेक घर सुरक्षित बनाउने अभियान सञ्चालन गर्नुका साथै महिलाको स्वपहिचान कानूनी रुपमा व्यवस्था गर्नुपर्ने देखिन्छ ।

श्रोतःमहिलापुनस्थपना केन्द्र


, ,
Lokpriyasamachar@. Powered by Blogger.