सिन्धुपाल्चोकभर व्यापक हिमपात, जनजिवन प्रभावित


मध्य फागुनमा परेको झरीले विहीबार सिन्धुपाल्चोकका अधिकांश क्षेत्रमा व्यापक हिमपात भएको छ । हरेक वर्ष एकदुई दिन हिँउ पर्ने क्षेत्रदेखि बर्षै नपरेका क्षेत्रमा समेत हिमपात हुँदा जनजिवन प्रभावित बनेको हो ।
सिन्धुपाल्चोकका धेरैजसो उच्च पहाडी क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । सदरमुकाम चौताराको आसपास लगाएत सबैजसो गाँउपालिका तथा नगरपालिकामा हिमपात भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको स्याउले, ओखरेनी लगायत इर्खु, बाझोविसौनामा समेत हिउँ परेको छ । त्यस्तै १४ सय मिटर उचाइमा रहेको मेलचौरमा समेत हिँउ परेको रेडियो सुनकोशीका पत्रकार उमेश विश्वकर्माले बताउनुभएको छ । ‘बिहान केहि समय मेलचौरमा समेत सामान्य हिमपात भएको थियो,’ विश्वकर्माले बताउनुभयो । सम्भवत यो नै सबैभन्दा कम उचाइमा परेको हिँउ हो ।
लिसंखुपाखर गाँउपालिकाको मुढेमा हिमपातको कारण करिब छ घण्टा सडक समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विहान करिब ६ः३० बाट हिँउ पर्न शुरु भएपछि अवरुद्ध भएको सडक दिउसो करिब १२ः३० बाट मात्र सुचारु भएको थियो । दोदखा, रामेछाप लगाएत सिन्धुपाल्चोकका केही क्षेत्रका लागि आवतजावत गर्ने सो मुल सडकमा एक फिट भन्दा बढी हिँउ जमेपछि यातायात अवरुद्ध बनेको थियो । दोलखाको चरिकोटमा र काभ्रेपलाञ्चोकको धुलिखेलसम्म हिमपात भएका कारण मुढे हुँदै चल्ने सवारी साधन त्यँही रोकिएकोले मुढेमा नै ठूलो समस्या भने नआएको प्रहरीले जनाएको छ । हिमापातका कारण छोटो दुरीमा यात्रा गर्ने नीजि तथा सार्वजनिक सवारीसाधन भने चल्न नपाउन्दा स्थानीयलाई असहज भएको थियो ।

लिसंखुपाखरको सबैजसो क्षेत्रमा हिमपाल भएको सो गाँउपालिकाका अध्यक्ष कमल नेपालले बताउनुभयो । ‘हाम्रो सबै वडाका अधिकांश क्षेत्रमा हिमपात भएको खबर छ ।’ नेपालले भन्नुभयो– ‘पेड्कुको तल्लो भुभाग बाहेका सबै क्षेत्रमा हिमपात भएको छ ।’ अध्यक्ष नेपालका अनुसार मुढे, शिलढुङ्गा, टाँडी लगाएतका केही ठाँउमा बाक्लै हिमपात भएपनि अन्य ठाँउमा भने सामान्य मात्रै परेको र सो हिँउ छिट्टै विलाएको थियो ।
जुुगल गाँउपालिका वडा नं. ७ को याङ्लाकोटमा समेत हिमपात भएको छ । करिब १२ वर्षपछि यो पटक मात्रै हिँउ परेको सो वडाका वडा अध्यक्ष दिलकुमार लामाले बताउनुभयो । लामाका अनुसार जुगल गाँउपालिकका सबै वडमा हिमापातका कारण जनजीवन प्रभावित बनेको थियो । त्यस्तै हेलम्बु गाँउपालिकामा हिमपातले असर पारेको छ । सो पालिकाको पनि सबै वडामा हिमपात भएको छ ।
विहीबार सरकारले सार्वजनीक बिदा घोषणा गरेको कारण हिमपात भएका क्षेत्रका विद्यार्थीहरुलाई भने खासै प्रभाव नपरेको पाँचपोखरी थाङपाल गाँउपालिका– ७ स्थित पाँचपोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक शान्ती शेर्पाले बताउनुभयो । ‘विद्यालय पूरै हिँउले ढाकेर पठनपाठन नै बन्द गर्नुपर्ने अवस्था थियो ।’ शेर्पाले भन्नुभयो– ‘तर सरकारले नै सार्वजनिक बिदा घोषणा गरेको दिन परेकोले छुट्टै विदा दिनु भने परेन ।’ यदि सार्वजनिक विदा नभएको भए विद्यालयमा विद्यार्थी आउन नै नसक्ने कारणले बिदा दिनुपर्ने उहाँले बताउनुभयो ।
सदरमुकाम चौतारा नजिकै रहेको ऐतिहासिक गौरती मन्दिर परिसरमा समेत हिँउ परेको छ । चौतारा साँगाचोकगढी नगरपालिका– ६ का वडा अध्यक्ष तोकबहादुर तामाङका अनुसार करिब ७० वर्षपछि मात्रै गौरती, दाह्रेगौंडा, पात्लेपानी लगाएतको ठाँउमा हिँउ परेको हो । ‘म अहिले ६१ वर्षको भएं,’ तामाङले भन्नुभयो ‘मैले थाहा पाएसम्म गौंरतीमा हिँउ परेको छैन ।’
जिल्लाका सबै गाँउपालिका र नगरपालिकाहरुमा भएको हिमपातपछि जिल्लाको मुढे, ओखरेनी, बाँसखर्क, गुफाडाँडा लगाएतका क्षेत्रमा आन्तरिक पर्यटकको घुइचो लागेको थियो । आफ्नै नीजि सवारी साधन हुनेहरु हिँउमा रमाउन ती स्थानहरुमा पुगेका हुन् ।

,