‘संविधान बदलियो, चिन्तन बदलिन सकेन’ मन्त्री मगर

खानेपानी मन्त्री बिना मगरले सामाजिक जीवनका क्षेत्रमा संस्कार र चिन्तन बदलिन जरुरी रहेको बताउनुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले आयोजना गरेको महिला जनप्रतिनिधि र सामाजिक अगुवाहरुको क्षमता अभिवृद्धि सम्बन्धि गोष्ठीमा बोल्दै उहाँले संविधान बदलिए पनि सामाजिक जीवनका क्षेत्रमा संस्कार र चिन्तन नबदलिएको बताउनुभएको हो ।
‘हामीले संविधान बदल्यौँ । तर, संस्कार बदल्न बाँकी नै छ । संविधानमा लेखेर मात्र संस्कार बदलिन सक्दैन, त्यसका लागि संघर्ष जरुरी छ,’ उहाँले भन्नुभयो– ‘हाम्रो समाज अहिले पनि सामन्तवादी चिन्तनकै वरिपरि छ । तर, त्यसलाई चिर्नु हाम्रै दायित्व हो । संविधानले हामीलाई धेरै अधिकार दिएको छ । तर, चिन्तन बदलिएको छैन । हामीले चिन्तन बदल्नुपर्छ ।’ चिन्तन बदलेर मात्र संवैधानिक व्यवस्थालाई व्यवहारमा लागू गर्न सकिने उहाँको भनाई छ ।
‘अहिलेको यो उपलब्धि यत्तिकै आएको होइन । हामीले संघर्ष गरेर ल्याएका हौँ,’ उहाँले भन्नुभयो– ‘बिना त्याग अधिकार आउँदैन । संविधानले समान अधिकार दिए पनि व्यवहारमा त्यसको प्रयोग हुन कठिन भइरहेको छ, यसमा सामाजिक संस्कार र परिवेश पनि जिम्मेवार छ ।’ महिलाहरुले आफ्नो मनोबल उच्च पार्नुपर्ने बताउँदै उहाँले आफूलाई सामाजिक चुनौतिसँग लड्न तयार गर्नुपर्ने बताउनुभयो ।
नेतृत्व विकासको पहिलो शर्त आत्मबल भएकाले अरुको भर नपरी आफै बलियो बन्नुपर्ने धारणा राख्दै उहाँले पदमा श्रीमतिलाई राख्ने तर सत्ता सञ्चालनको साँचो आफ्नै हातमा लिने संस्कार राजनीतिक वृत्तमा रहेको बताउनुभयो । समान अधिकार भने पनि व्यवहारमा घरेलु कामको जिम्मा महिलाकै थाप्लोमा हुने उहाँको भनाइ छ ।
मन्त्री मगरले जनयुद्धले महिला अधिकार स्थापित गरेको बताउनुभयो । उहाँले माओवादी आन्दोलनले महिला अधिकारलाई स्थापित गरेको उनको तर्क गर्दै भन्नुभयो– ‘महिलाहरु मर्न तयार भए, सामन्ती जञ्जाल तोड्न सफल भए, त्यसकारण तिनीहरु नेता भए । जनयुद्धमा पलपल मृत्युको जोखिम हुन्थ्यो । त्यहि मुक्तिको सपनाले नै आज महिला अधिकार स्थापित भएको छ ।’ उहाँले घरायसी काम र व्यवहारमा अधिकार र कार्यक्षेत्रको बाँडफाँड गर्न सकिएन भने महिला नेता स्थापित हुन नसक्ने बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.