‘शब्द–सारथि’ लाई सहयोग

जिल्लामा सञ्चालन भइरहेको सुन्ने सुनाउने शृङ्खला शब्द–सारथिलाई स्थानीय समाजसेवी श्यामकृष्ण श्रेष्ठले आर्थिक सहयोग गर्नुभएको हो ।
वार्षिक १२ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार १९ औं शृंखलामा श्रेष्ठले यो महिनाको सहयोग भन्दै एक हजार रुपैयाँ सहयोग गर्नुभएको हो । कार्यक्रममा शब्द–सारथिका अध्यक्ष अमित घिमिरेलाई नगद हस्तान्तरण गर्नुभएको हो ।
हरेक शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका– ५ को सभा हलमा हुने शब्द–सारथिलाई श्रेष्ठले १६ औं शृंखलामा मासिक एक हजार रुपैयाँ सहयोग दिने प्रतिबद्धता जनाउनुभएको थियो । सारथीको यो शृङ्खलामा एघार कविहरुले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । अमित घिमिरेको कविताबाट सुरु भएको सुन्ने सुनाउने अभियानमा जीवन श्रेष्ठ, सुन्दर शिरीष, किशोर बुढाथोकी, सुरेश बुढाथोकी, विजय नेपाल, हेमन प्रधान, दिल कार्की, ध्रुवलाल श्रेष्ठ, गणेश पुरी, दिपक थापा, अविरल अप्रिय, लगायतले सिर्जना सुनाउनुभएको थियो ।
सारथीको १९ औं शृंखलामा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष एवं समाजसेवी, साहित्यप्रेमी, श्यामकृष्ण श्रेष्ठ, नगरपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति डम्बरबहादुर श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष नरमान श्रेष्ठ, नगर शिक्षा अधिकृत गणेश पुरीले सफलताको कामना गर्नुहुँदै शब्द–सारथिले सिन्धु साहित्यको संरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
हरेक शुक्रबार हुने यो अभियानले सातौं शृङ्खला पर्यटनका लागि साहित्य गरिएको थियो । त्यस्तै नवौं शृङ्खला न्यायको लागि, १५ औं शृंखला मुक्तक विशेष गरिएको थियो भने १७ औं शृङ्खलामा कवि ध्रुवलाल श्रेष्ठको कविताकृति सुमन सिन्धुको विमोचन गरेको थियो । आउँदो २० औं शृंखला हाइकु विशेष गरिन लागिएको शब्द–सारथिले जनाएको छ ।

, ,