अख्तियारको पत्रपछि टोलीसहित मेयर क्रसरमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेपछि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुखसहितको टोली क्रसर उद्योगको अनुगमन गर्न उद्योग स्थलमानै पुगेको छ । आयोगले क्रसर उद्योगको अनुगमन गरी मापदण्ड पूरा गरे नगरेको विषयमा तुरुन्त प्रतिवेदन बुझाउन भनेपछि नगरपालिकाले अनुगमन गरेको हो ।
नगपालिकाले प्रमुख अमानसिं तामाङको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखाका प्रमुख, राजस्व शाखाको नायब सुब्बा, सम्वन्धित वडाको वडाध्यक्ष, घरेलु तथा साना उद्योग विकास समिति, वन डिभिजन, भू–संरक्षण कार्यालयको प्रतिनिधि सहितको टोलीले सुनकोशी र इन्द्रावती नदीको आसपासमा सञ्चालित क्रसरहरु र उत्खनन भईरहेको बगरको अनुगमन गरेको हो । टोलीले इन्द्रावती नदी तटका चार वटा र सुनकोशी नदी तटका तीन वटा गरी सात वटा दर्तावाला क्रसर उद्योगमा अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा कुनै पनि उद्योगले मापदण्डमा रहेर काम नगरेको पाइएको नगरपालिकाका प्रमुख अमानसिं तामाङले जानकारी दिनुभयो । ‘हामीले अनुगमन गरेका हाम्रो नगरपालिकामा सञ्चालित कुनैपनि क्रसर उद्योग मापदण्डमा रहेर सञ्चालन गरेको पाइएन,’ प्रमुख तामाङले भन्नुभयो– ‘विशेषगरी जंगल, घनावस्ती, विद्यालय, स्वास्थ्य चौकी, सडक लगाएतको लागि प्रदेश सरकारले तोकेको न्यूनतम दुरी समेत कायम नगरी क्रसर सञ्चालन गरिएको भेटियो ।’
नदीजन्य पदार्थ (संकलन र उपयोग) सम्बन्धी कार्यविधि, २०७५ ले जंगल, घनावस्ती, विद्यालय, स्वास्थ्य चौकी, सडकजस्ता पूर्वाधारको लागि तिनीहरुको संवेदनशिलताको आधारमा न्यूनतम दुरी तोकीएको छ । त्यस्तै नदी किनारबाट समेत निश्चित गहिराइमा मात्रै उत्खनन् गर्न पाउने गरी स्थानीय सरकारले तोकेको मापदण्डमा रहि उद्योग सञ्चालन गर्न पाइनेछ ।
मापदण्डको विषयमा अनुगमनबाट प्राप्त निश्कर्ष प्रतिवेदनको रुपमा अख्तियार पठाउने र त्यहाँबाट गरेको निर्णयको आधारमा थप कदम चाल्ने प्रमुख तामाङले बताउनुभयो । तामाङले कार्यालयको कामको लागि विषयगत कर्मचारीसहित अनुमगनमा गएको प्रष्ट्याउदै कार्यालय खाली नबनाएको र जनप्रतिनिधिले जनताको काममा अवरोध आउन नदिने बताउनुभयो ।

‘नियमीत अनुगमन गरेका हौं’
क्रसर उद्योगको अनुगमनकै विषयमा बुझ्न खोज्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले प्रदेश सरकारको कार्यविधि अनुसार नियमीत अनुगमन गरिएको बताउनुभएको छ ।
‘हामीले नियमीत अनुगमनको रुपमा नै यो अनुगमन गरेका हौं,’ बस्यालले भन्नुभयो । कार्यालय नै बन्द गरी सेवाग्राहीलाई प्रभावित पारिएको भन्ने विषयमा भने अधिकृत बस्यालले शाखा अधिकृत लोकबहादुर विकलाई कार्यलयको कार्यभार दिएर अनुगमनमा गएको बताउनुभयो । ‘कार्यालयको नियमीत कामको लागि विषयगत कर्मचारीहरु सहित अनुगमनमा गएका हौं,’ अधिकृत बस्यालले भन्नुभयो– ‘शाखा अधिकृत र प्रमुख इन्जिनियरलाई कार्यालयमा राखेर अनुगमनमा जाँदा कसरी कार्यालय बन्द हुन्छ ?’
अनुगमनको प्रतिवेदन तयार भैईरहेको र एक दुई दिनमै प्रतिवेदन टुङ्गो लागेपछि मात्रै मापदण्ड मिचे नमिचेको बताउन मिल्ने भन्दै प्रतिवेदन तयार भएपछि सार्वजनीक गरिने उहाँले बताउनुभयो ।

, , ,