जिल्लामै पहिलो पटक स्नातकोत्तर कक्षा सुरु

सुन्दर शिरीष
१४ फागुन, चौतारा÷ सिन्धुपाल्चोकमा पहिलो पटक स्नातकोत्तर तहको कक्षा सुभारम्भ गरिएको छ । चौतारा बहुमुखी क्याम्पसले मंगलबारबाट स्नातकोत्तरको नियमित पहिलो सेमेस्टरको कक्षा सुरु गरेको छ ।
स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने ७७ जनाले प्रवेश परीक्षामा फर्म भरेका थिए । जसमध्ये ७१ जना प्रवेश परीक्षामा समेत उत्तीर्ण भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र संकायमा सम्बन्धन प्राप्त भएपछि मूल विषय अङ्ग्रेजी र नेपालीमा कक्षा सञ्चालन सुरु गरिएको हो ।
स्नातकोत्तर तह एमएड सेमेस्टरको प्राध्यापन सुभारम्भ कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख जानुका पराजुलीले चौतारामा स्नातकोत्तर तहको अध्ययन सुरु हुन गौरवको कुरा भएको बताउनुभयो । ‘आफ्नै ठाउँमा एमएडको अध्यापन हुने भएपछि उच्च शिक्षाको लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ’, उहाँले भन्नुभयो– ‘यसको सुरुवात मात्रै होईन निरन्तर टिकाईराख्न र गुणस्तरीय शिक्षा प्रदान गर्न पनि उत्तिकै जरुरी छ ।’
ठूलो जनशक्ति अध्ययनबाट बञ्चित भईरहेको अवस्थामा यहिँ शिक्षा पाउनु महत्वपूर्ण विषय भएको औल्याउँनुहुँदै उपप्रमुख पराजुलीले पहिलो सेमेस्टरको विद्यार्थीको नतिजाले क्याम्पसको भविश्य निर्धारण गर्ने हुँदा त्यस तर्फ ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्राध्यापक रमेश शुभेच्छुकले शिक्षा विषय समाज परिवर्तन गर्ने एउटा पाटो भएकोले यसलाई सानो सोच्नु गलत भएको बताउनुभयो । ‘शिक्षक बन्नु भनेको एक जनामात्रको विकास हुनु होईन, सिंगो समाजलाई उठाएर हेर्नु हो’, उहाँले भन्नुभयो । अधिकांशले शिक्षामा पैसालाई प्रथमिकता दिएको कारण धेरै युवा खाडी मुलुकमा दुःख गर्न बाध्य भएको बताउनुहुँदै प्राध्यापक शुभेच्छुकले अब शिक्षा संकायको माध्यमबाट त्यसलाई रोक्न पहल गर्नुपर्ने बताउनु भयो ।
भाषाको उच्च शिक्षा अन्य विधाको उच्च शिक्षा भन्दा महत्वपूर्ण भएको उल्लेख गर्नुहुँदे उहाँले राष्ट्रिय भाषा अध्ययन गर्न पाउनु गौरवको विषय भएको प्रष्ट्याउनु भयो ।
कक्षा सुभारम्भ कार्यक्रममा क्याम्पस सञ्चान समितिका संस्थापक सदस्य सोम सापकोटा, सल्लाहकार समिति सदस्य केशवलोचन शर्मा, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतम, क्याम्पस सञ्चान समितिका सदस्य यज्ञप्रसाल दंगाल, स्ववियु सभापति मिलन लामा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
स्नातक तहको अध्ययन पूरा गरी प्रतिकूल परिस्थितिका कारण राजधानीमा बसेर थप अध्ययन गर्न नसक्नेका लागि जिल्लामै स्नातकोत्तर तहको कक्षा सञ्चालन भएपछि त्यस्ता विद्यार्थीका लागि सुविधा प्राप्त भएको छ । कक्षा सञ्चालनका लागि सुविधासम्पन्न भवनको व्यवस्था छ । विसं २०५८ मा सम्बन्धनप्राप्त क्यामपसमा हाल स्नातक तहमा व्यवस्थापन, शिक्षा र विज्ञान संकायमा गरी ३ सय ५० छात्रछात्रा अध्ययन गरिरहेका क्याम्पस प्रमुख नगेन्द्र दंगालले जानकारी दिनुभयो ।
समाजवेशी, शिक्षाप्रेमि, अभिभवक, विभिन्न विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी, विद्यार्थी उपस्थित अभिमुखिकरण कार्यक्रममा स्नातकोत्तर तहको सेमेस्टर प्रणाली, शुल्क, परीक्षा लगायतको विषयमा जानकारी गराईएको थियो ।

, , , , ,