‘विधान संसोधन ऐतिहासिक’

नेपाल पत्रकार महासंघले यही फागुन ९ र १० गते पोखरामा गरेको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको बताएको छ ।
महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी विधानमा व्यवस्था गरिनु ऐतिहासिक भएको र यसबाट महासंघको जीवनमा दूरगामी महत्व रहने महासंघले जनाएको छ । विधान अधिवेशनबाट पारित विशेष प्रस्ताव तथा निर्णय सार्वजनिक गर्न शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सभामा प्रस्तुत विधान संशोधनको मस्यौदा केन्द्रीय समितिमा एकजना महिला उपाध्यक्ष र एक महिला सदस्य थप्ने गरी संशोधनसहित सर्वसम्मतरुपमा पारित भएको बताउनुभयो । 
नौ वर्षअघि नेपालगञ्ज, त्यसपछि पोखरा र चितवनमा गरी तीनवटा साधारणसभामा विधान संशोधनको प्रस्ताव सफल नभए पनि यसपटक पोखरामा संशोधन हुनु महासंघको इतिहासमा बिरलैमध्येको घटना भएको अध्यक्ष आचार्यले बताउनुभयो ।  उहाँले भन्नुभयो– ‘पोखराको यस अधिवेशन ऐतिहासिक र नमुनायोग्य भएको छ । साधारणसभाको मूल भावनाअनुसार विधानमा व्यवस्था हुन्छ । अब महासंघ आफ्ना मुद्दामा केन्द्रित रहन्छ ।’
महासंघको उपाध्यक्ष विपुल पोखरेलले प्रत्यक्ष निर्वाचनको व्यवस्थाले महासंघलाई लोकतान्त्रिक पद्दतिमा लगेको बताउनुभयो । त्यस्तै महासंघको महासचिव रमेश विष्टले विगतमा केन्द्रीय प्रतिनिधिको राजनीतिले महासंघलाई कमजोर बनाएको उल्लेख गर्दै सदस्यता शुद्धीकरणमार्फत अब व्यावसायिक पत्रकारको छाता संस्थाको रुपमा विकास गरिने बताउनुभयो । महासंघको पोखरा साधारणसभा तथा विधान अधिवेशन विभिन्न १७ बुँदे प्रश्ताव पारित गर्दै सम्पन्न भएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.